गृहपृष्ठ ओझेलमा कान्छो राष्ट्रिय निकुञ्ज

ओझेलमा कान्छो राष्ट्रिय निकुञ्ज

सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाइरहेका बेला पर्यापर्यटनको राम्रो सम्भावना रहेको बाँके राष्ट्रिय निकुञ्जमा भने पर्यटकको चहलपहल खासै छैन । बाघको बासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले २०६७ सालमा स्थापना भएको यस निकुञ्ज जैविक विविधता, दुर्लभ वन्यजन्तुको बासस्थान र बर्दिया राष्ट्रिय निकुञ्ज तथा नेपालगन्जसँग जोडिएको छ । नेपालको यो कान्छो राष्ट्रिय निकुञ्ज आवश्यक प्रचारको अभावमा ओझेलमा परेजस्तो देखिन्छ । यद्यपि, निकुञ्जलाई सरकारले १०० वटा पर्यटकीय गन्तव्यको सूचीमा ५७ औँ स्थानमा राखेको छ ।

सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरुप बाघको संख्या बढाउन यसको बासस्थानको उचित व्यवस्थापन गर्ने उद्देश्यले बाँके, दाङ र सल्यानको ५५० वर्ग किमी क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रुपमा यो निकुञ्ज घोषणा गरेको थियो । २०५७ सालमा पृथ्वीलाई उपहार भनी यस क्षेत्रलाई सरकारले बर्दिया राष्ट्रिय निकुञ्जको पूर्व विस्तारित क्षेत्रको रुपमा घोषणा गरेको थियो । त्यसको १० वर्षपछि २०६७ वैशाख ३० मा सगरमाथा राष्ट्रिय निकुञ्जको कालापत्थरमा बसेको मन्त्रिपरिषद्को बैठकले यस निकुञ्ज स्थापनाको निर्णय गरेको र २०६७ असार २८ गते राजपत्रमा सूचना प्रकाशित गरी यसको औपचारिक स्थापना गरिएको थियो ।

निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग तथा राष्ट्रिय र सामुदायिक वन हुँदै भारतको कतर्नियाघाट वाइल्ड लाइफ सेन्चरीसँग जोडिएको छ । उत्तरतर्फ चुरे पर्वत र दक्षिणमा पूर्व‑पश्चिम राजमार्ग छ भने दक्षिणमा कम्दी जैविक मार्ग हुँदै भारतको सलेहवा वाइल्डलाइफ सेन्चरी क्षेत्रसँग समेत जोडिएको छ । निकुञ्जमा आवतजावतमा अप्ठ्यारो पर्ने महोदेवपुरी बोटल नेट क्षेत्र पनि पर्छ ।

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्यटन प्रवर्धनका लागि आवशयक पूर्वाधारसहित वन्यजन्तु विचरण भइरहेको दृश्यावलोकनका लागि विभिन्न स्थानमा टावर निर्माण, जस्प सफारी, पैदलयात्रा, हात्ती सफारी आदि सेवा उपलब्ध छन् । बाँके राष्ट्रिय निकुञ्जमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले पुस दोस्रो सातादेखि हात्ती सफारी सुरु गरिएको छ । नेपाल भ्रमण वर्ष शुभारम्भको अवसरमा प्रदेश‑५ का मुख्यमन्त्री शंकर पोखरेलले आन्तरिक पर्यटक बढाउन र विदेशी पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीले सहयोग पुग्ने बताए ।  मध्यवर्ती क्षेत्रको विभिन्न क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी बालापुर, खड्गबार र गाभरमा होमस्टे (घरबास पर्यटन) सञ्चालनमा ल्याइएको छ । निकुञ्जको ओभरी, खड्गबार, बुच्चापुर, गाभर र अगैयाबाट पर्यटकलाई निकुञ्जभित्र प्रवेश गर्ने सुविधा उपलब्ध छ ।

निकुञ्जमा बाघ र हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावर छन् । यहाँ जैविक विविधताको दृष्टिले आठवटा पारिस्थितिकीय प्रणाली, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रजातिका पन्छी, ५८ प्रजातिका माछा, ३२ प्रजातिका स्तनधारी, २२ प्रजातिका सरीसृप तथा ६ प्रजातिका उपयचर पाइन्छन् । सालक, हुँडार, चौका, जंगली हात्ती र पाटेबाघजस्ता संरक्षित स्तनधारी वन्यजन्तु, कालो गरुड र राजधनेशजस्ता पन्छी र अजिंगर, सुन गोहोरोजस्ता संरक्षित घस्रने वन्यजन्तु छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ मानिएका पन्छी अभिलेख गरिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको हुँदा ठूला वन्यजन्तुका लागि यो महत्वपूर्ण बासस्थान पनि हो ।

बाँके राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त थलो बन्दै गएको छ । निकुञ्जमा खानेपानी, उचित व्यवस्थापन भएपछि बाघको संख्या बढेको निकुञ्जले जनाएको छ । निकुञ्ज कार्यालयका अनुसार सन् २०१३ मा चारवटा बाघ रहेकामा सन् २०१८ मा २१ वटा वयस्क बाघ पुगेको छ । ‘बाघका लागि आहारविहार, बस्ने ठाउँ आदिको व्यवस्था गरेपछि बाघको संख्यामा उल्लेख्य वृद्धि भएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भने । नेपालले व्यक्त गरेको प्रतिबद्धताअनुसार बाघको संख्या सन् २०२२ सम्ममा २५० पुर्‍याउनन सकिने उनी बताउँछन् । पछिल्लो आँकडाअनुसार नेपालमा बाघको संख्या २३५ छ ।

यस निकुञ्जभित्र पूर्व‑पश्चिम क्षेत्रमा ७२ किलोमिटर र कोहलपुर‑बबई रत्न राजमार्गमा ३० किलोमिटर पर्ने हुँदा वन्यजन्तु सडक वारपार गर्ने क्रममा दुर्घटनामा पर्ने समस्या छ । सुक्खा क्षेत्र भएका कारण निकुञ्जका जनावर पानी पिउन राप्ती नदी किनारामा पुग्ने गर्छन् । रातको समयमा राजमार्ग पार गर्ने क्रममा उनीहरु सडक दुर्घटनामा पर्ने गरेका छन् । ‘सडकमा जथाभावी फ्याँकिएका खानेकुरा खान जाँदा पनि केही जनावर गाडीको ठक्करले मारिएका छन्,’ संरक्षण अधिकृत भट्टराईले भने । निकुञ्जमा पाँच वर्षको अवधिमा २६४ जनावर सडक दुर्घटनामा परेर मरेका छन् ।

निकुञ्जको तथ्यांकअनुसार आव २०७५/७६ मा ४५ वटा, आव २०७४/७५ मा ७२ वटा, आव २०७३/७४ मा ८३, आव २०७२/७३ मा ५०, आव २०७१/७२ मा २४ वटा वन्यजन्तुको मृत्यु दुर्घटनाबाट भएको छ । मृत्यु हुनेमा बँदेल, मृग, खरायो आदि छन् । दुर्घटना मुख्य गरेर सुक्खायाममा बढी हुने गरेको पाइएको छ । गत वर्ष दुर्घटनाको जोखिममा परेका ४३१ वन्यजन्तुको उद्धार गरिएको थियो ।

राष्ट्रिय निकुञ्जको सुरक्षा व्यवस्थाका लागि २०६७ सालदेखि सेनाको गोरखदल गणको एक टोलीले सुरक्षा प्रदान गरेको थियो । सोही साल उक्त गण नै यस निकुञ्जमा स्थानान्तरण भई सुरक्षा प्रदान गरेको थियो । २०७४ साउन ७ गतेदेखि श्रीमेहर गण यसको सुरक्षार्थ तैनाथ छ । हाल करिब ६०० सैनिकले निकुञ्जको सुरक्षा गरिरहेको छ ।

गणका प्रमुख सेनानी जीवन शर्मा कान्छो निकुञ्ज भएकाले भौतिक पूर्वाधार निर्माण गर्नेदेखि सेनाले चौबिसै घण्टा सेनाको साइकल गस्ती, गाडीबाट पेट्रोलिङ गरिरहेको बताउँछन् । नेपाली सेना, निकुञ्ज र स्थानीयवासीको सहकार्य र समन्वयमा निकुञ्जको सुरक्षा, चोरी शिकारी नियन्त्रणका कार्य सफल भएको उनको भनाइ छ । हाल २० वटा पोस्टबाट संरक्षण तथा व्यवस्थापनको काम भएको छ ।

पर्यापर्यटन प्रवर्धनका लागि एउटा पक्की मचान, वन्यजन्तुका लागि ६७ वटा पानीपोखरी निर्माण, आगोलागी नियन्त्रणका लागि पाँचवटा पोखरी निर्माण र हात्तीको सेडघर दुईवटा निर्माण गरिएको छ । चोरीसिकारी हुन नदिन र जनावरको गतिविधि बुझ्न जंगलभित्र ठाउँठाउँमा आधुनिक ‘क्यामरा ट्यापिङ’ प्रविधि जडान गरी मोबाइल एप्सको माध्यमबाट तुरुन्तै जानकारी लिन सकिने उनी बताउँछन् ।

केही वर्षअघिसम्म मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने समुदायमा निकुञ्जप्रति सकारात्मक दृष्टिकोण नभए पनि अहिले यसको संरक्षणप्रति निकै चनाखो र सहयोगी रहेको पाइन्छ । बर्दिया निकुञ्जमा घुम्न आउने पर्यटकका कारण त्यहाँका मध्यवर्ती क्षेत्रका बासिन्दाको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनबाट प्रेरित भएकाले यहाँका बासिन्दा पनि संरक्षणको अभियानमा सक्रियरुपमा लागेको कोहलपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष सावित्रा पुन बताउँछिन् ।

हालसम्म निकुञ्जमा विदेशी पर्यटकको संख्या उल्लेख्य नभए पनि विस्तारै आन्तरिक पर्यटक बढेसँगै विदेशी पर्यटकलाई पनि आकर्षित गर्न सकिने उनको भनाइ छ । हाल यस निकुञ्जअन्तर्गत नौवटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति छन् । (रासस)

प्रकाशित समय १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु