गृहपृष्ठ ठगी भए जानकारी गराउनुस्, मन्त्रालयले तुरुन्त ‘एक्सन’ लिन्छ : मन्त्री भट्ट
ठगी भए जानकारी गराउनुस्, मन्त्रालयले तुरुन्त ‘एक्सन’ लिन्छ : मन्त्री भट्ट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ठगी भएकोबारे सम्बन्धित निकायमा जानकारी गराए तुरुन्त कारबाही गर्ने बताएका छन् । बिहीबार ‘वर्तमान कानुन र उपभोक्ता अधिकार’ विषयक सचेतना कार्यक्रममा उनले उपभोक्तालाई सचेत गराउन मिडियाले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताए ।
‘उपभोक्तालाई आफ्नो अधिकारबारे सचेत गराउनुपर्छ । यस विषयमा सरकार गम्भिरताका साथ अघि बढिरहेको छ,’ उनले भने । उपभोक्ताको हक अधिकारलाई संविधानले सुनिश्चित गरिसकेको तथा यससम्बन्धी कानुन पनि बनिसकेको उनले बताए । उनले भने, ‘बनिसकेको कानुनलाई व्यवहारमा लागू गर्न मन्त्रालय क्रियाशील छ । तर हामीसँग भएको जनशक्तिले देशैभरिको नियमावलीलाई पूरा गर्न सक्छ वा सक्दैन भन्ने विषय गम्भिर र चुनौतीपूर्ण छ ।’
कानुन कार्यान्वयन गर्नका निम्ति मन्त्रालय मात्र नभएर अधिकारकर्मीहरु पनि सचेत हुनुपर्ने मन्त्री भट्टको भनाइ थियो । अधिकारकर्मीहरु पनि मन्त्रालयको हिस्सा नै भएकाले यसले मन्त्रालयलाई चेतवानी दिने, सचेत गराउने र सहकार्य गर्नुपर्ने उनले बताए ।
चीनबाट फैलिएको कोरोना भाइरसले अहिले विश्वलाई नै आतंकित बनाइरहेको बेला नेपालमा पनि विभिन्न हल्ला फैलिएको बताउँदै उनले यसबाट डराउनेभन्दा पनि सचेत हुन आग्रह गरे ।

कोरोनाकै कारण भारतले २६ वटा औषधी निर्यातमा प्रतिबन्ध लगाएको सम्बन्धमा तुरुन्त पहल गर्ने मन्त्री भट्टले बताए । ‘यसबारे अहिले पनि कुराकानी भइरहेको छ,’ उनले भने ।
कञ्जुमर आई नेपालका अध्यक्ष विमला खनालले उपभोक्ता सचेतनाको लागि उपभोक्ताहरु माझ गएर नै कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् । ‘अहिले बजार, बजारजस्तो छैन । उपभोक्ताहरु ठगिएका छन्, कालोबजारी बढेका छन् । उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन,’ उनले समस्या सुनाइन् ।
हरेक वस्तुमा मिसावट गरिने, गुणस्तरहीन वस्तु बेच्ने, नाप तौलमा उपभोक्तालाई ठग्ने जस्ता कार्य बजारमा व्यापक बढेको उनले बताइन् । उनले ‘संविधान तथा उपभोक्ता हक अधिकारसम्बन्धी कानुन र दण्ड सजाय’ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यपत्रमार्फत उनले कानुनमा उपभोक्ता परिचय, संवैधानिक अधिकार, बजारमा देखिएका समस्यालगायत दण्ड सजायसम्बन्धी कानुनी प्रावधानबारे जानकारी दिइन् ।

प्रकाशित समय १९:०४ बजे

















