गृहपृष्ठ प्रहरी बढी संवेदनशील र सक्रिय हुनुपर्छ : आईजीपी ज्ञवाली
प्रहरी बढी संवेदनशील र सक्रिय हुनुपर्छ : आईजीपी ज्ञवाली
प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीले संगठनले लिएको लक्ष्य र उद्देश्य अनुरुप सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताएका छन् । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै उनले उक्त कुरा बताएका हुन् ।
आईजीपी ज्ञवालीले समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवं सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै आफ्नो मातहतका कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सीपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताए ।
उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको चुनौतीहरुको समाधानका लागि त्यसमा संलग्न सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउँदै उनले प्रहरीले सबै प्रहरी कर्मचारीले सकारात्मक सोच एवं उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिककेन्द्रित सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासीलगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुन आईजीपी ज्ञवालीले निर्देशन दिए ।
उनले संगठनको श्रीवृद्धि गर्नका लागि सबै प्रहरी कर्मचारीहरुले व्यावसायिक निष्ठाका तथा लगनशीलताको प्रदर्शनी गर्नुपर्ने चर्चा गर्दै संगठनले सुम्पेको दायित्वलाई दृढ संकल्पका साथ पुरा गर्न उपलव्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै उच्च मनोबलसहित अगाडि बढ्न निर्देशनसमेत दिए । नेपाल प्रहरीले अंगीकार गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिक र प्रहरीको सम्बन्धमा सुधार गर्नुकोसाथै यस कार्यक्रममार्फत गरिएका गतिविधि अत्यन्तै फलदायी भइरहेको तथा यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने उनकाे धारणा थियाे ।
उक्त अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीईजीपी) विश्वराज पोखरेलले धन्यवाद ज्ञापन गर्दै प्राप्त निर्देशनहरु अक्षरस पालन हुने बताए । साथै संगठनको लक्ष्य पूरा गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले सम्पन्न गर्नेमा प्रतिवद्धतासमेत उनले व्यक्त गरे ।

प्रकाशित समय १९:२५ बजे

















