गृहपृष्ठ १२९ देशमा पुग्यो कोरोना : ४ हजार ९९० जनाको मृत्यु, १ लाख ३५ हजार संक्रमित
१२९ देशमा पुग्यो कोरोना : ४ हजार ९९० जनाको मृत्यु, १ लाख ३५ हजार संक्रमित
चीनबाट विश्वभर फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९) ले चर्को रुप लिएको छ । दिनप्रतिदिन भाइरस फैलदै जाँदा ज्यान गुमाउनेको संख्या पनि ह्वात्तै बढेको छ । भाइरसका कारण १२९ देशहरु प्रभावित भइसकेका छन् ।
चीनको बुहानबाट विश्वमा फैलिएको भाइरस चीनमा भने केही कमी आउन थालेको छ । चीन सरकारले कोरोनासँग जितको नजिक पुगेको बताएको छ । केही दिन यता संक्रमितको संख्या २० भन्दा कम हुँदै आएको छ ।
चीनबाट फैलिएको भाइरसले इटालीमा पनि निकै प्रकोप फैलाएको छ । इटालीमा १५ हजारभन्दा बढी मान्छेहरु संक्रमित भएका छन् भने हजारभन्दा बढीको ज्यान गइसकेको छ । विश्वका १२८ देशमा फैलिएको भाइरसले करिब ५ हजार जनाको ज्यान लिएको छ ।
कुन देशमा कतिको ज्यान गयो ?
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । इरान र इटाली त झनै दैनिक रुपमा सयभन्दा बढीको ज्यान गइसकेको छ । जनवरी २२ देखि सुरु भएको कोरोना भाइरसका कारण विश्वभर ४ हजार ९ सय ९० जनाको ज्यान गइसकेको छ । जसअन्तर्गत चीनमा मात्रै तीन हजार १७७ जनाको ज्यान गएको छ ।
बिहीबार मात्रै चीनमा ८ जनाको ज्यान गएको वर्ल्ड म्याटरको तथ्यांकमा उल्लेख गरिएको छ ।चीनपछि सबैभन्दा बढी संक्रमित भएको देशको सूचीमा इटाली रहेको छ । इटालीमा ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ । शुक्रबार दिउँसोसम्मको तथ्यांकअनुसार इटालीमा एक हजार १६ जनाको ज्यान गएको तथ्यांकमा उल्लेख गरिएको छ ।
कोरोनाको संक्रमितमध्येकै अर्को देश हो इरान । शुक्रबार दिउँसोसम्म ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ । इरान इटालीपछिको बढी संक्रमित भएको देशको रुपमा रहेकोब तथ्यांकले देखाएको छ ।
दक्षिण कोरियामा पनि कोरोना भाइरसको प्रकोप निकै फैलिएका छ । कोरियामा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७१ पुगेको छ । बिहीबार मात्रै दक्षिण कोरियामा ५ जनाले ज्यान गुमाएका थिए । त्यस्तै स्पेन, फ्रान्स, जर्मनी युएसएलगायतका देशहरुमा पनि सयौंको संख्यामा संक्रमित र दशौंको संख्यामा ज्यान गुमाएका छन् ।
कुन देशमा कति संक्रमित ?
चीनको बुहानबाट विश्वका १२९ देशमा फैलिएपछि अहिलेसम्म संक्रमित हुनेको संख्या १ लाख ३५ हजार १६८ रहेको छ । शुक्रबार दिउँसोसम्ममा मात्रै संक्रमित हुनेको संख्या ६ सय १२ रहेको छ ।
सबैभन्दा बढी संक्रमित भएका, ज्यान गुमाएका र अस्पतालबाट डिस्चार्ज भएकामध्ये सबैभन्दा बढी चीनमा छन् । चीनमा हालसम्म ८० हजार ८१४ जना संक्रमित देखिएका छन् । त्यस्तै इटालीमा १५ हजार ११३, इरानमा १० हजार ७५, दक्षिण कोरियामा ७ हजार ९७९ जना संक्रमित फेला परेका छन् ।
बिहीबार मात्रै दक्षिण कोरियामा ११० जना नयाँ संक्रमित देखिएको वल्र्ड म्याटरको तथ्यांकले देखाएको छ । त्यस्तै स्पेनमा ३ हजार १४८, फ्रान्समा २ हजार ६७६, जर्मनीमा २ हजार ७५०, अमेरिकामा १ हजार ७६२ जनामा कोरोना देखिएको छ । त्यस्तै विश्वका १२९ देशहरुमा फैलिएको कोरोना भाइरसले चर्को रूप लिएको छ ।
प्रकाशित समय १६:४९ बजे

















