गृहपृष्ठ ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाहीअघि ‘नमस्कार’

ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाहीअघि ‘नमस्कार’

ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिठ्ठी फुकेर लखेट्ने ट्राफिक प्रहरी अब भिन्न भूमिकामा देख्न पाइनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्नेलगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार अभियान’ सुरु गरेको छ।

सडकमा तैनाथ ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकलाई कारवाही गर्नुभन्दा पहिले नमस्कार गर्नेछन् । त्यसपछि आवश्यकताअनुसार कानुन कार्यान्वयनका लागि कारवाही गर्दछन् नत्र सम्झाइ-बुझाइ गर्नेछन् । ट्राफिक नियम पालनामा सतर्क रही प्रवृत्तिको विकास गर्न सुझाउँदछन् ।

‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मीयता र सम्मानसमेत प्रकट होस् भनेर नमस्कार सुरूवात गरका हौं,’ महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले भने, ‘यो नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ।’ यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उनको भनाइ छ।

यसैबीच, महाशाखाले कानुन कार्यान्वयनको कामलाई भने कडाइका साथ कार्यान्वयन गरिरहेको छ । ‘गल्ती रियलाईज होस्, अब गल्ती गर्न हुँदैन भन्ने भाव बुझुन् भनेर यो अभियान सुरु गरेका हौँ,’ महाशाखाका प्रवक्ता एसपी जिवन कुमार श्रेष्ठले भने, ‘यसले सवारी चालक र ट्राफिक प्रहरीबीच  आपसमा सद्भाव बढ्नुको साथै चालकलाई स्व-अनुशासनमा सवारी साधन चलाउन मद्दत पुग्छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्नेवित्तिकै एसएसपी ढकालले आफ्ना ७ प्राथमिकता सार्वजनिक गरेका थिए । दक्ष, अनुशासित, मेहनती, सुझबुझ ढंगले काम गर्ने स्मार्ट ट्राफिक प्रहरी बनाउने एसएसपी ढकालको पहिलो प्राथमिकता रहेअनुसार ट्राफिक प्रहरीहरूलाई विभिन्न तालिम र अनुशिक्षण पनि प्रदान भइरहेको छ ।

प्रकाशित समय १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु