गृहपृष्ठ १० लाख थान मास्कसहित पक्राउ परेका ५ जनाविरूद्ध ‘कालो बजारी’ मुद्दा

१० लाख थान मास्कसहित पक्राउ परेका ५ जनाविरूद्ध ‘कालो बजारी’ मुद्दा

१० लाख ८ हजार थान मास्क र बा. ७ च ७२६३ नम्बरको गाडीसहित पक्राउ परेका ५ जनाविरूद्ध प्रहरीले  कालोबजारी मुद्दा दर्ता गराएको छ । प्रहरीले आइतबार कपनस्थित मिलन चोकबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूमा ओखलढुङ्गा, खिजादेबी गाउँपालिका- १ घर भई ललितपुर ईमाडोल बस्ने ३० वर्षीय टेकराम श्रेष्ठ, बारा गढीमाई उपमहानगरपालिका- २ घर भई हाल काठमाडौं कपन बस्ने ३४ वर्षीय संजय रेग्मी, चितवन टाँडी नगरपालिका- १ घर भई काठमाडौं स्वयम्भू बस्ने २६ वर्षीय अजिम बक्स मिया रहेका छन् । प्रहरीले सोही समूहका आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक काठमाडौं महानगरपालिका- २३ बस्ने २४ वर्षीय सुरज गोयल र सोही सप्लायर्सका सञ्चालक भारत राजस्थान घर भई काठमाडौं बागबजार बस्ने ३७ वर्षीय सुबास महेश्वरीलाई पनि पक्राउ गरेको हो ।

उनीहरुले काठमाडौं चन्द्रागिरी नगरपालिका- १०, विष्णुदेवीस्थित घर भाडामा लिई आरडीजी इन्टरनेशनल सप्लायर्सका नाममा गोदाम सञ्चालन गरेका थिए । सोबारे जानकारी प्राप्त भएपछि प्रहरीले आइतबार गाेदाम सिल गरी जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायको प्रतिनिधिको उपस्थितिमा सोमबार बिहान तलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा मास्क बरामद भएको हो ।

उनीहरुले ३ रुपैयाँ २५ पैसा पर्ने उक्त मास्कलाई ३१ रुपैयाँ मूल्यमा बिक्री वितरण गर्न लागेको खुल्न आएको छ । उनीहरुलाई कालो बजारी तथा सामाजिक हित बिरुद्धको अपराध ऐन, २०३२ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित समय १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु