गृहपृष्ठ वीरेन्द्रनगरलाई ‘व्यवस्थित सहर’ बनाउन २५ वर्षीय गुरुयोजना, साढे ४ अर्ब बजेट

वीरेन्द्रनगरलाई ‘व्यवस्थित सहर’ बनाउन २५ वर्षीय गुरुयोजना, साढे ४ अर्ब बजेट

वीरेन्द्रनगर बजार ।

वीरेन्द्रनगर नगरपालिकालाई व्यवस्थित सहरको रुपमा विकास गर्न पच्चीस वर्षीय गुरुयोजना निर्माणको काम सुरु गरिएको छ । कुरुप सहरका रुपमा विस्तार हुन थालेपछि वीरेन्द्रनगरलाई व्यवस्थित रुपमा विकास गर्नका लागि गुरुयोजना निर्माण थालिएको नगर प्रमुख देवकुमार सुवेदीले बताए ।

नगरको गुरुयोजना निमार्णका लागि सहरी विकास मन्त्रालयको भवन विभागले जिम्मा लिएको छ । सहरी पर्यटन, पूर्वाधार, लगायतका १३ वटा शीर्षकका योजना निर्माणका लागि जिम्मा लिएको हो । यसका लागि वीरेन्द्रनगर नगरपालिकाले करिब ६८ लाख खर्च गरेको प्रमुख सुवेदीले जानकारी दिए ।

२०२८ सालबाट वीरेन्द्रनगर नगरपालिकाको योजना निर्माण सुरु भए पनि लगतकट्टा भएको थिएन । नापीको कामलाई हाल वीरेन्द्रनगर नगरपालिकाले सुरु गरेको हो । सार्वजनिक बाटोहरुको लगतकट्टा गर्ने काम नगरपालिकाले सुरु गरेको छ । विस्तारित क्षेत्र उत्तरगंगा, लाटीकोइली, जर्बुटा, गढी र लेकगाउँको बाटोको रेखांकन गर्ने र बाटोको निश्चित मापदण्ड तोक्ने तयारीमा समेत वीरेन्द्रनगर नगरपालिका रहेको छ ।

पच्चीस वर्षका लागि निर्माण हुने गुरुयोजनामा सडक, विभिन्न निजी तथा सरकारी भवन, पार्क, ढल, निजी तथा ऐलानी क्षेत्रहरुको संरक्षण, प्राकृतिक खानेपानीका मुहानको संरक्षण, सांस्कृतिक धरोहरको संरक्षण, फोहोर व्यवस्थापन लगायतका कुरा समेटिने प्रमुख सुवेदीले जानकारी दिए । यसअघिको गुरुयोजनामा नसमेटिएका साविकको रतु, गर्पन, जर्बुटा, लाटीकोईली, उत्तरगंगा लगायतका क्षेत्रलाई समेटी गुरुयोजना निर्माण गर्न लागिएको हो । सुवेदिका अनुसार गुरुयोजना निर्माणमा ६८ लाख रुपैयाँ खर्च भएको छ ।

योजना निर्माणका क्रममा केही जटिलतासमेत आएको प्रमुख सुवेदीले बताए । ‘केही समय नगरपालिका जनप्रतिनिधिविहीन भएको अवस्थामा निजी क्षेत्रले योजनाविपरित काम गरेको पाइयो,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्नका लागि योजनाको काम अगाडि बढाइएको हो ।’

गुरुयोजना निर्माण गर्ने क्रममा भौगोलिक क्षेत्रको अध्ययन, बस्ती बसोवासको अवस्था, कृषि पकेट क्षेत्र लगायतको अध्ययन भइरहेको उनले बताए । उनका अनुसार गुरुयोजना निर्माणको प्रारम्भिक प्रतिवेदनको काम भने भइरहेको छ ।

पहिलेको योजना बजार, कृषि लगायतका विभिन्न क्षेत्रमा विभाजित भए पनि हाल वीरेन्द्रनगर उपत्यका कृषि क्षेत्रका रुपमा विकास हुन नसक्ने भन्दै व्यवस्थित सहरका रुपमा विकास गरिन लागिएको हो । तीव्र गतिमा बस्ती विकास भइरहेको अवस्थालाई तत्कालै क्षतिपूर्ति दिएर अधिग्रहण गर्न नसकिने अवस्था भएकाले वीरेन्द्रनगर उपत्यकाभित्र कृषि क्षेत्र नहुने उनले बताए ।

वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानीसमेत भएकाले यसलाई व्यवस्थित गर्न सकिएको खण्डमा समग्र प्रदेशको गरिमा बढ्ने सुवेदीले बताए । तर यसको लागि प्रदेश सरकारले दिने बजेट न्यून रहेको छ । ‘गुरुयोजनाको लागि मात्रै करिब साढे चार अर्ब लाग्ने अनुमान गरिएको छ,’ नगर प्रमुख सुवेदीले थपे, ‘त्योभन्दा बढी पनि लाग्न सक्छ । एकैपटकमा यो काम हुन सक्दैन ।’ कर्णाली प्रदेश सरकारले प्रत्येक वर्ष दिने बजेटमा विशेष ग्राहयताको साथ गुरुयोजनालाई सहयोग हुनेगरी बजेट थप गर्न सके वीरेन्द्रनगर सुन्दर सहरको रुपमा विकास हुने उनले बताए ।

वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजना इतिहास हेर्दा २०२८ सालबाट व्यवस्थित रुपमा अगाडि बढेको हो । सुर्खेत उपत्यका बसोवास आयोगमार्फत तत्कालीन भवन विभाग कार्यालयका प्रमुख माधवभक्त माथेमाले वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजना निर्माण गरेका थिए । जसअन्तर्गत २०३१ सालमा नगर विकास समितिले समेत गुरुयोजनाको काम गरेको थियो ।

त्यतिबेला वीरेन्द्रनगरका साविकका १२ वटा वडामात्रै गुरुयोजनाभित्र परे पनि लाटीकोइली, उत्तरगंगा, गढी, जर्बुटा लगायतका क्षेत्र भने संरक्षित क्षेत्रको रुपमा रहेका थिए । हाल भौगोलिक हिसाबले विकट मानिएका रतु र गर्पनसमेत वीरेन्द्रनगर नगरपालिकाभित्र पर्ने भएकाले उक्त क्षेत्रलाई पनि समेटेर गुरुयोजना निर्माण हुन लागेको सुवेदीले बताए ।

इन्जिनियर ओमभक्त रेग्मीका अनुसार यसअघि रत्नराजमार्ग भन्दा माथिको भागलाई वस्ती व्यवस्थापन गरिएको र तल्लो भागलाई कृषि क्षेत्रका रुपमा विकास गर्नेगरी गुरुयोजना निर्माण गरिएको थियो । वीरेन्द्रनगर नगरपालिकाको– ८ मा रहेको आवास क्षेत्र, नगरको ७ नम्बर सरकारी क्वार्टरलगायत व्यवस्थित गुरुयोजना निर्माण गरिए पनि संघीयतासँगै बढेको जनसंख्याले वीरेन्द्रनगर कुरुप भएको रेग्मीले बताए । उनले माथेमाले निर्माण गरेको गुरुयोजनामा खेल तथा खुला मैदान, सार्वजनिक पार्क, सडक, ढल, वस्ती व्यवस्थापन, सरकारी कार्यालयको क्षेत्र, संस्थानहरुको क्षेत्र, कृषि क्षेत्र छुट्याइएको जानकारी दिए ।

रत्नराजमार्गको माथिल्लो भागको योजना नेपालमै नभएको योजना भए पनि रत्नराजमार्ग भन्दा तल्लो क्षेत्रमा निजी क्षेत्रको योजना भएको कारण अव्यवस्थित भएको उनले बताए । ‘बन्दै गरेको वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजनाको छलफलमा मैले पनि केही सुझाव दिएको छु । अब बन्ने गुरुयोजना दिगो हुनुपर्छ,’ उनले भने । ढल निकास, ढल प्रशोधन, फोहोर व्यवस्थापन, सडकको मापदण्डलगायत वीरेन्द्रनगरको सम्भावित जनसंख्यालाई आधार मानी गुरुयोजना निर्माण गर्नुपर्ने उनको धारणा छ ।

विमानस्थलको क्षेत्र सानो भएको भन्दै रेग्मीले राजधानीको निकासलाई समेत ध्यानमा राखी योजना निर्माण गर्नुपर्ने बताए । ‘खोला अतिक्रमण गर्ने प्रवृत्ति बढेको छ,’ उनले थपे, ‘यो अवस्थामा निकास रोकिन्छ । त्यसपछि समस्या झन् ठूलो हुन्छ ।’ अब बन्ने वीरेन्द्रनगरको योजना सुक्ष्म अध्ययन गरी निर्माण गर्न जरुरी भएको उनले बताए । विमानस्थल, बसपार्क, खेलमैदान, सार्वजनिक पार्क, लगायतका सम्पूर्ण क्षेत्रलाई अहिलेको गुरुयोजनाले समेट्नुपर्ने उनको सुझाव छ । वीरेन्द्रनगर नगरपालिका एउटा नगरमात्रै नभई कर्णाली प्रदेशको राजधानीसमेत भएकाले प्रदेशभरका नागरिक समेटिने गरी योजना निर्माण गर्न जरुरी भएको उनले बताए ।

प्रकाशित समय १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु