गृहपृष्ठ कोरोना संक्रमणबाट बच्न सरकारको यस्तो छ तयारी
कोरोना संक्रमणबाट बच्न सरकारको यस्तो छ तयारी
नोवेल कोरोनाभाइरसको विश्वव्यापी प्रभावबाट सतर्क रहने गरी सरकारले १४ वटा निर्देशन जारी गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड‑१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसँगको बैठकपछि पर्यटन मन्त्रालयले बिहीबार यस्तो निर्देशन दिएको हो ।
बैठकमा पर्यटनमन्त्री योगेश भट्टराईसहित मन्त्रालय र मातहतका निकायका विभागीय प्रमुख एवं विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
१. पर्यटन मन्त्रालयअन्तर्गतका सबै साँस्कृतिक केन्द्रहरु, संग्रहालय तथा अभिलेखालय २०७६ चैत मसान्तसम्म बन्द गर्ने ।
२. साँस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानहरुका सभाहल, प्रेक्षालयहरुमा चैत मसान्तसम्म कुनै कार्यक्रम आयोजना नगर्ने, पूर्व निर्धारित कार्यक्रमसमेत स्थगन गर्ने ।
३. विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलहरुमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालु/दर्शनार्थी भेला नहुने व्यवस्था मिलाउने । त्यस्ता स्थलमा लामबद्ध हुने दर्शनार्थी/तीर्थालुहरुबीचको दूरी कम्तीमा एक मिटर कायम गर्ने व्यवस्था मिलाउने । साबुन पानीले हातखुट्टा धुने प्रबन्ध मिलाउने । सबै तीर्थालुलाई अनिवार्य मास्क लगाउन सूचित गर्ने । यस्ता स्थलमा निश्चित अन्तरालमा सरसफाइ एवं डिसइन्फेक्सन गर्ने गराउने ।
४. पर्यटक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्ने नगराउने । त्यस्ता सवारी साधन चलाउनुअघि सवारी साधनलाई डिसइन्फेक्सन गर्ने व्यवस्था मिलाउने । यसको नियमित अनुगमन पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरीले संयुक्त रुपमा गर्ने ।
५. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने यात्रुहरुलाई हेल्थ डिक्लारेसन फर्म अनिवार्य भर्न लगाई स्वास्थ्य जाँच (हेल्थ स्क्रिनिङ) गर्ने गराउने । सोको अनुगमन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धकले गर्ने । साथै, आन्तरिक विमानस्थलका प्रस्थान क्षेत्रमा पनि सबै यात्रुहरुको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने ।
६. युरोप, पश्चिम एशिया तथा खाडी क्षेत्रक सबै मुलुकहरु एवं टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट सीधा उडान भई आउने, ती मुलुकलाई ट्रान्जिट बनाई आउने तथा उल्लेखित मुलुकबाट प्रथम यात्रा सुरु गरी अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई आउने सबै यात्रुलाई चैत ७ गते नेपाली समयको मध्यरातदेखि चैत ३० गतेसम्म आगमनमा प्रतिबन्ध लगाइएको व्यहोराको जानकारी नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी समेतलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले गराउने ।
७. नेपाल सरकारद्वारा निश्चित अवधि तोकी ट्राभल एड्भाइजरी जारी गरेको कारणबाट कुनै यात्रुले उक्त अवधिभित्रको यात्रा स्थगन गरेको वा वायुसेवा कम्पनी आफैंले उडान रद्द गरेको अवस्थामा हवाई टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने र हवाई टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै वायुसेवा कम्पनीहरुलाई निर्देशन दिने र त्यसको नियमित अनुगमन गर्ने ।
८. नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरिरहेका पठनपाठन २०७६ चैत्र मसान्तसम्म बन्द गर्ने ।
९. मन्त्रालय र अन्तर्गत निकायबाट सञ्चालन हुने सबै प्रकारका तालिम, सेमिनार, गोष्ठी, सभा सम्मेलन जस्ता कार्यक्रम चैत मसान्तसम्म बन्द गर्ने ।
१०. पर्यटक स्तरका होटल, मोटल, रिसोर्ट, लज, रेष्टुरेण्ट एवं बारहरुले ज्वरो मापन गर्ने उपकरण तथा सामग्रीहरुको व्यवस्था गरी उक्त स्थानमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने । साथै, हात सफा गर्ने स्यानिटाइजरलगायतका सफाइका सामग्रीहरुको प्रबन्ध गरी कार्यस्थल, शौचालय आदि स्थान र टेबुल कुर्सी, बार-रेलिङमा नियमित रुपमा डिसइन्फेक्सन गर्ने व्यवस्था मिलाउने । यसको नियमित अनुगमन पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र पर्यटक प्रहरीले संयुक्त रुपमा गर्ने । यसका लागि नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान, पर्यटक प्रहरीसहितको समन्वयमा स्वयंसेवक परिचालन गर्ने ।
१२. मन्त्रालय र अन्तर्गत निकायले आफ्नो कार्यालय भवन र परिसरमा नियमित रुपमा सरसफाइ गर्ने, कार्यालय प्रवेशद्वारमा अनिवार्यमा ज्वरो मापन गर्ने उपकरण एवं स्यानिटाइजरको व्यवस्था गरी प्रवेश गर्ने व्यवस्था मिलाउने ।
१२. विदेशबाट आएका स्वदेशी तथा विदेशी यात्रुलाई १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्ने व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय, अध्यागमन विभागसमेतको समन्वयमा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले आवश्यक कार्य गर्ने ।
१४. विदेशबाट नेपाल आउने पर्यटकलाई सेल्फ क्वारेन्टाइन अवधिपछि मात्र ट्राभल/ट्रेकिङ अनुमति प्रदान गर्ने । त्यससम्बन्धी व्यवस्थाको जानकारी पर्यटकले विमानस्थलमै र सम्वन्धित निकायहरुको वेबसाइटबाट पाउने व्यवस्था मिलाउने ।
प्रकाशित समय १६:०० बजे

















