गृहपृष्ठ प्रदेश २ मा गरिब तथा विपन्नलाई खाद्यान्न उपलब्ध गराउन १८ करोड छुट्याइयो
प्रदेश २ मा गरिब तथा विपन्नलाई खाद्यान्न उपलब्ध गराउन १८ करोड छुट्याइयो
कोरोना शंकास्पद र संक्रमितको उपचार प्रदेश सरकारले गर्ने
प्रदेश २ सरकारले गरिब तथा विपन्न परिवारलाई निशुल्क खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने भएको छ । लकडाउनका कारण आर्थिक मारमा परेकाहरुका लागि खाद्यान्न उपलब्ध गराउन स्थानीय तहसँग समन्वय गर्ने आइतबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।
यसका लागि प्रदेश सरकारले १८ करोड रुपैयाँ तत्कालै निकासा गर्ने भएको छ । महानगरपालिकालाई २५, उपमहानगरलाई २०, नगरपालिकालाई १५ र गाउँपालिकालाई १० लाख रुपैयाँको दरले रकम उपलब्ध गराउने सरकारको तयारी छ । स्थानीय तहहरुले यो रकमबाट आ–आफनो क्षेत्रका गरिब, विपन्न र दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु वितरण गर्नेछ ।
साथै भारत तथा विदेशबाट आएकाहरुको पहिचान गरी क्वारेन्टाइनमा राख्ने, शंकास्पद तथा संक्रमितको उपचार तथा रेखदेखको खर्च प्रदेश सरकारले व्यहोर्ने पनि बैठकले निर्णय गरेको छ ।
प्रदेश २ सरकारले कोरोना संक्रमण रोकथामका लागि खडा गरेको २५ करोड रुपैयाँको राहत कोषको खाता प्रभु बैंकमा सञ्चालन गर्ने भएको छ । विपक्षी दलका नेताहरु सहितको बैठकले खाता सञ्चालन लगायतको विषयमा निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।
प्रकाशित समय १७:१७ बजे

















