गृहपृष्ठ लकडाउनको असर : सुदूरपश्चिममा दुई हप्तामै कुखुरा किसानको ५० करोड नोक्सान
लकडाउनको असर : सुदूरपश्चिममा दुई हप्तामै कुखुरा किसानको ५० करोड नोक्सान
दैनिक ८० हजार चल्ला उत्पादन गर्ने ८ ओटा ह्याचरी उद्योग पनि बन्द
फाइल तस्बिर
कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिममा बोइलर कुखुरापालक किसानले कराडौँको नोक्सानी व्यहोरेका छन् । कुखुरापालक किसान, अण्डा उत्पादन र ह्याचरी सञ्चालकले दैनिक कराडौँको नोक्सानी व्यहोर्नु परेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
कोरोना सक्रमणका कारण लकडाउन लम्बिएपछि सुदूरपश्चिम प्रदेशका कुखुरापालक किसानहरु समस्यामा परेका छन् । कोभिड १९ तथा कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएसँगै सरकारले लकडाउन गरेको २ साता बितेको छ ।
लकडाउनका कारण दाना नपाइने र बिक्री गर्ने समय पुगेका कुखुरासमेत बिक्री नहुँदा सुदूरपश्चिमका कुखुरा किसान समस्यामा परेका छन् । लकडाउनको समयमा कुखुरापालक किसानले उत्पादन गरिएका चल्ला तथा कुखुरा बिक्री भएको छैन् । मासु पसलसमेत बन्द छन् ।
प्रदेशका कुखुरापालक किसानले उत्पादन र तयारी अवस्थामा राखिएका चल्ला, कुखुरा तथा अण्डा बिक्री नहुँदा समस्या रहेको उनीहरुले बताएका छन् । त्यस्तै यो समयमा किसानहरुले कुखुराका लागि आवश्यक दानापानी, औषधी तथा ढुवानी नहुँदा व्यवसाय क्षेत्रमा नोक्सानी बेहोर्नुपरेको धनगढी उप-महानगरपालिका ३ का कुखुरापालक पंकज देउवाको गुनासो छ ।
सुदूरपश्चिम प्रदेशमा थुप्रै कुखुरापालक किसानहरु रहेका छन् । किसानले तयारी अवस्थामा राखिएका अण्डा तथा कुखुरा बिक्री वितरण नहुँदा नष्ट गर्ने अवस्था आएको उनीहरुले बताए । लकडाउनले सिमानाका बन्द भएपछि भारतबाट दानाको लागि आवश्यक कच्चा पदार्थ आपुर्ति हुन सकेको छैन । जसले गर्दा यो अवस्थामा दानासमेत पाउन छोडेपछि आफूहरु समस्यामा परेको कुखुरापालक किसान विमेश सिँहले बताए ।
सुदूरपश्चिम प्रदेशमा दैनिक ७० देखि ८० हजार चल्ला उत्पादन गर्ने ८ ओटा ह्याचरी उद्योग पनि बन्द छन् । ३० लाख कुखुरा उत्पादन हुने यस प्रदेशमा ४५ प्रतिशत स्थानीय र ५५ प्रतिशत लेयर्स र ब्रोइलर कुखुरा उत्पादन हुँदै आएको भूमि व्यवस्था कृर्षि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयले अहिले किसानसँग १० लाख कुखुरा मासुको लागि तयारी अवस्थामा रहेको छ तर बिक्री भएको छैन ।
साना मझौला र ठूला कुखुरापालक किसानहरुको लकडाउनले दोस्रो हप्तासम्म आइपुग्दा ५० करोडको बराबरको क्षति भएको मन्त्रालयका पशु अधिकृत हेम अवस्थीले जानकारी दिए । सानाले लाखौँ लगानी लगाएर गरिरहेको कुखुरा व्यवसायमा लकडाउनले ठूलो क्षति गरेको छ । विषेशगरी ब्रोइलर कुखुरा पालकहरु यसबाट बढी प्रभावित छन् । त्यसैले दाना ढुवानी र कुखुरा ओसार पोसारमा सहज गरिदिन उनीहरुले माग गरेका छन् ।
प्रकाशित समय १०:५६ बजे

















