गृहपृष्ठ भाडामा बस्नेहरूको समस्या : न साथमा पैसा छ, न खाद्यान्न
भाडामा बस्नेहरूको समस्या : न साथमा पैसा छ, न खाद्यान्न
कोरोना भाइरस महामारीका कारण देशमा लकडाउन भएको दुई साता बितिसकेको छ । लकडाउन भएसँगै अधिकांश सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ । कतिपयको ‘भान्सामा आगो बाल्नै’ समस्या भएको छ । यस्तैमध्ये पढ्नका लागि सहरमा बसेका विद्यार्थीहरु पनि समस्यामा छन् ।
उच्च शिक्षा आर्जनका लागि सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट अधिकांश विद्यार्थी धनगढी तथा महेन्द्रनगर आउँछन् । घरबाट पठाएको सीमित पैसाले पढाई खर्चसँगै जेनतेन गुजारा गरिरहेका विद्यार्थीहरु लकडाउनका कारण समस्यामा परेका हुन् ।
भाडामा बस्ने विद्यार्थी, श्रमिक, मजदुरहरुको खाद्यान्न सामग्री सकिन लागेको छ भने पैसा नहुँदा कोठा भाडा तिर्नसमेत सकेका छैनन् । भाडामा बसेकाहरुको ग्यास, दाल, चामल, तरकारीलगायत अन्य दैनिक उपभोग्य वस्तुहरु सकिन थालेपछि उनीहरुमा के खाने, के गर्ने भन्ने चिन्ता बढेको छ ।
धनगढीको हसनपुर बस्ने विद्यार्थी शैलेश्वरी कठरियाले लकडाउन लम्बिँदै जाँदा समस्या बढेको बताइन् । ‘घरबेटीले भाडा माग्न थालिसके । नत भाडा तिर्न पैसा नै छ, नत खाद्यान्न किन्न नै,’ उनले दुखेसो पोखिन्, ‘अहिले घरबाट खर्च पठाइमाग्न पनि समस्या छ । कहाँबाट घरभाडा तिर्ने, कहाँबाट खाद्यान्न किन्ने भन्ने पीडाले पिरोलेको छ ।’ राहत वितरण गर्ने निकायहरुले पनि भाडामा बस्नेहरुको तथ्यांक नै संकलन नगरेको उनले गुनासो सुनाइन् ।
भाडामा बस्ने उनीहरु बन्दले घरसम्म जान पनि पाएका छैनन् । डेरामा खाद्यान्न र साथमा पैसासमेत सकिँदै गएपछि उनीहरुको दैनिकी कष्टकर बन्दै गइरहेको छ । स्थानीय सरकारले धनगढीका विभिन्न वडामा राहत वितरण गरेको छ । तर भाडामा बस्नेहरु राहतबाट वञ्चित छन् । सरकारले राहतका साथै घरभाडा मिनाहको व्यवस्था गरे सहज हुने धनगढी- १ का अभिषेक सिराडीको भनाइ छ ।
विद्यार्थी, दैनिक ज्यालादारी गर्ने श्रमिक तथा मजदुरलगायत भाडामा बस्नेहरु सबैभन्दा बढी प्रभावित बनेका छन् । यतिबेला भाडामा बस्ने विद्यार्थी, स्वास्थ्यकर्मी, मजदुरलगायत कामदारको समस्याबारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासी पुण्य प्रसाद अधिकारीले बताए ।
प्रकाशित समय १३:२५ बजे

















