गृहपृष्ठ यस्तो छ विक्रम संवत र नयाँ वर्षको महत्व

यस्तो छ विक्रम संवत र नयाँ वर्षको महत्व

आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. माधव भट्टराई बताउँछन् । ‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवतका विशेषतादेखि इश्वी संवतका व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ,’ उनले भने ।

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको छ । कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण नेपालीले घरमै बसेर नयाँ वर्ष मनाउनेछन् । विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुने अवस्था छैन । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गरेर मनाउन यस वर्ष बन्दाबन्दीका कारण सहज छैन । पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि लाग्ने भीड पनि यस वर्ष हुनेछैन । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा सूचना टाँस गरी मूल ढोकामा ताला लगाइएको छ । मन्दिरमा नित्य पूजामात्र हुने गरेको छ ।

नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई घरबाटै मानसिक रुपमा दर्शन गर्न आह्वान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताए । पछिल्लो समय वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो ।

नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन भए पनि यस वर्ष कोरोनाका सन्त्रासका कारण चैत ११ गतेदेखि निरन्तर देशभर बन्दाबन्दी भएकाले मानिस घरमै बसेका छन् । काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको संगममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गम स्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रा लगायत देशभर लाग्ने मेला यस वर्ष स्थगित गरिएको छ । पनि वैशाख १ गते हुने विशेष पूजा भने यथावत् रहने जनाइएको छ । विशेष पूजा भीडभाड नगरी पुजारीले मात्र गर्नेछन् ।

चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १२ गतेदेखि नै सुरु भइसकेको छ । चैत १२ गतेदेखि प्रमादी नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए ।

वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सर मध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको प्रमादी ४७औँ संवत्सर हो । प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताउँछन् । (रासस)

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु