गृहपृष्ठ बुवा बिते पनि तीन छोराले नेपाल प्रवेश गर्न पाएनन्, भारतीय क्वारेन्टिनमै बसे किरिया
बुवा बिते पनि तीन छोराले नेपाल प्रवेश गर्न पाएनन्, भारतीय क्वारेन्टिनमै बसे किरिया
केही हप्ताअघि सीमा नाका महाकाली आइपुगेका नेपालीहरू । इन्सेटमा किरियापुत्री बसेका धामी दाजुभाइ ।
बैतडीका ३ मजदूरले बुवा बितेको ४ दिनसम्म पनि नेपाल प्रवेश गर्न पाएका छैनन् । देशभर लकडाउन घोषणा भएसँगै सीमा नाका सिल भएपछि स्वदेश फर्किएका उनीहरु भारतीय क्वारेन्टिनमै बसेका छन् ।
बैतडीको पुर्चौडी नगरपालिकाका प्रेम धामी, अम्मर सिंह धामी र राम धामीको बुवाको गत आइतबार निधन भएको थियो । पाँच दाजुभाइमध्ये उनीहरु तीन जना अहिले भारतको पिथौरागढ जिल्लाअन्तर्गत धार्चुलाको क्वारेन्टाइनमै किरियामा बसेका छन् ।
घरमै गएर बुवाको किरिया बस्ने धोको भए पनि आफूहरुको जान नपाएको अमर सिंह धामीले बताए । ‘बिसु पर्वका लागि घर आएका हौं तर बुवासँग भेट हुन पाएन,’ उनले भने, ‘७ गते बुवाले संसार छोड्नु भएछ ।’
बुवालाई दागबत्ती दिन नपाउँदा साह्रै खल्लो लागेको उनले सुनाए । घरमा बुवा बिरामी भएको थाहा पाएपछि जान दिन आग्रह गर्दा पनि कसैले आफूहरुको कुरा नसुनेको उनले बताए । अर्का छोरा प्रेमसिहं धामीले बिरामी बुवालाई भेट्न नपाए पनि कमसेकम घरमै पुगेर किरिया बस्न दिन आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बैतडीले भने भारतीय क्वारेन्टिनमा बसेका ती मजदूरलाई नेपाल ल्याउन पहल भइरहेको जनाएको छ । आइतबार बुवाको मृत्यु भएपछि उनीहरुलाई बुधवार नेपाल भित्राइने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । घरमा बुवा बितेपछि उनीहरुलाई नेपाल भित्र्याउन भारतीय प्रशासनसँग समन्वय भइरहेको उनले जानकारी दिए ।
उनीहरु तीनै जना पिथौरागढको गभर्मेन्ट इन्टरमेडियट कलेजमा क्वारेन्टिनमा किरियामा बसिरहेका छन् । यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिकाका वाशुदेव भट्ट पनि आमाको निधन भएपछि ६ दिनसम्म भारतीय क्वारेन्टिनमै बसैका थिए । भारतीय केन्द्र सरकार र नेपाल सरकारको अनुमतिपछि मात्र उनीहरूले नेपाल प्रवेश गर्न पाएका थिए ।
प्रकाशित समय १९:१० बजे

















