गृहपृष्ठ कारागारमा कोरोना संक्रमणको जोखिम
कारागारमा कोरोना संक्रमणको जोखिम
विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसका संक्रमितहरु नेपालमा पनि दिनहुँजसो बढिरहेको छ । संक्रमण रोकथामकै लागि सरकारले एक महिनायता देशभर लकडाउन घोषणा गरेको छ ।
संक्रमणबाट जोगिन विभिन्न क्षेत्रमा सजगता अपनाइए पनि कारागारहरु भने कोरोनाको जोखिममा छन् । अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले पनि संक्रमणको जोखिम बढेको हो । क्षमताको चारगुणा बढी कैदीबन्दी रहेको कैलाली कारागार पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।
सरकारले कोरोना संक्रमणबाट जोगिन सामाजिक दुरी राख्न अपिल गरेको छ । तर कैलाली कारागारमा भने क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी हुँदा सामाजिक दुरी कायम गर्न समस्या भएको छ । १ सय ५० जना क्षमता रहेको जीर्ण कारागारमा हाल ४०० भन्दा बढी कैदीबन्दी रहेका छन् ।
खान र सुत्नसमेत समस्या रहेको कारागारमा कैदीबन्दीहरुले सामाजिक दुरी कायम गर्न समस्या छ । कारागारमा सुत्न, हिँडडुल गर्न र खाना बनाएर खानसमेत मुस्किल परेको छ । यस्तो बेला कैदीबन्दीहरुलाई सरसफाइका सामानसमेत अभाव छ । सामाजिक दूरी कायम गर्न नसकिए पनि सामान्य सरसफाइका सामान कारागारबाटै उपलब्ध भएको कैदीबन्दीहरुले बताएका छन् । तर त्यो सामान पर्याप्त नभएको उनीहरुको भनाइ छ ।

चौकीदार खडक तामाङले कैदीबन्दीको संख्या अध्यधिक भएकाले संक्रमण जोखिममा रहेको बताए । स्वास्थ्य सामग्रीसमेत पर्याप्त नहुँदा जोखिम झन् बढेको उनको भनाइ छ ।
सामान्यतया सरसफाइमा जोड दिएको भए पनि पर्याप्त स्वास्थ्य सामग्री भने अभाव नै रहेको कारागार प्रशासनले जनाएको छ । विषेशगरी बाहिरबाट आएका मानिसबाट नै रोग सर्ने सम्भावना हुने भएकाले भेटघाट बन्द गरेको कैलाली कारागार सुरक्षामा खटिएका सई रामचन्द्र पन्तले बताए ।
कारागारका कैदीबन्दीको स्वास्थ्यलाई ख्याल गर्दै एक गैरसरकारी संस्थाले सेनिटाइजर, साबुन तथा मास्क सहयोग गरेको छ । मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) नामक संस्थाले कैलाली कारागारका कैदीबन्दीहरुका लागि ३ सय बोतल सेनिटाइजर, सर्जिकल मास्क २ हजार ९ सय २० थान, ग्लोभ ९ सय थान र ४ सय ३२ थान साबुन सहयोग गरेको हो । कैदीबन्दीलाई कुनै निकायबाट सहयोग नहुँदा आफ्नो संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।
सो सहयोगले केही राहत भए पनि निरन्तर सरसफाइका लागि अझँै स्वास्थ्य सामग्रीको खाँचो रहेको कैदीबन्दीहरु बताउँछन् । यसका लागि उनीहरुले अन्य निकायबाट समेत सहयोगको अपेक्षा गरेका छन् ।
प्रकाशित समय १३:३१ बजे

















