गृहपृष्ठ पर्यटक हेलिकप्टरमा फर्किए, भरियाहरू ३६ दिनदेखि चउरको टेण्टमा

पर्यटक हेलिकप्टरमा फर्किए, भरियाहरू ३६ दिनदेखि चउरको टेण्टमा

बाह्रबिसे बजार । (फाइल तस्बिर)

मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ भरिया सभापोखरी गाउँपालिकामा अलपत्र परेका छन् । विदेशी पर्यटकसँग मकालु हिमाल ट्रेकिङमा हिँडेका भरिया लकडाउनका कारण संखुवासभाको सभापोखरी गाउँपालिका- २, बाह्रबिसेमा अलपत्र परेका हुन् ।

उनीहरुसँग आएका अस्ट्रेलियाका दुई, क्यानडाका दुई र फ्रान्सका एक नागरिकको गत चैत १८ गते नै कैलाश एयरको हेलिकप्टरबाट उद्धार भइसकेको छ । उनीहरुसँग आएका विदेशी पर्यटक फर्किए पनि भरिया भने सभापोखरीमै अलपत्र परेका गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए ।

उनीहरु अहिले गाउँपालिकाको प्रहरी चौकीनजिकै चउरमा टेन्ट बनाएर बसेका छन् । लकडाउनले अलपत्र परेका भरियाहरु सात जना तनहूँ र आठ जना काठमाडाैंका छन् । उनीहरु ३६ दिनदेखि सभापोखरीमै अलपत्र परेका छन् ।

उनीहरुलाई गाउँपालिकाले राहत सामग्री सहयोग गरेको गाउँपालिका अध्यक्ष सुब्बाले बताए । अध्यक्ष सुब्बाका अनुसार उनीहरु घर फर्किने पास नभएका कारण सभापोखरीको बाह्रबिसेमै रोकिएका हुन् ।

प्रकाशित समय २२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु