गृहपृष्ठ भण्डारण गर्नुपर्ने समयमा रित्तिँदै गोदाम, खाद्यान्न अभाव हुने सम्भावना

भण्डारण गर्नुपर्ने समयमा रित्तिँदै गोदाम, खाद्यान्न अभाव हुने सम्भावना

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड- १९) रोकथामका लागि सरकारले देशभर लकडाउन लागू गरेको एक महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा अन्य समयको तुलनामा सुदूरपश्चिमस्थित खाद्य संस्थानका डिपोहरुबाट खाद्यान्न विक्री बढेको छ ।

लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएका विपन्न परिवारहरुलाई राहत वितरण गर्ने कार्य सुदूरपश्चिममा पनि जारी छ । राहत वितरण गर्दा पहाडी जिल्लाका स्थानीय तहहरुले खाद्य संस्थानबाटै खाद्यान्न खरिदमा जोड दिएका छन् । यसरी राहतका लागि संस्थानबाटै खाद्यान्न खरिद हुँदा आगामी दिनमा पहाडी क्षेत्रमा खाद्यान्न अभाव हुने सम्भावना बढेको छ ।

दुर्गम पहाडी जिल्ला बाजुरामा खाद्यान्न अभावको संकेत देखिन थालिसकेको छ । बाजुराको कोल्टी डिपोसम्म कच्ची सडक भएर खाद्यान्न लैजानुपर्छ । बर्षातको समयमा ढुवानीका साधन नचल्ने हुँदा त्यसअगावै खाद्यान्न भण्डारण गरिसक्नु पर्ने हो । तर यस वर्ष भने लकडाउनका कारण डिपोमा खाद्यान्न मौज्दात हुन सकेको छैन । कोल्टी डिपोमा हाल ८ सय १२ क्वीन्टल मात्र चामल मौज्दात छ । त्यसमा पनि दैनिक १५ क्वीन्टलका दरले डिपोबाट चामल विक्री भइरहेको छ । अन्य स्थानीय तहले पनि खाद्यान्नका लागि निवेदन दिएको छन् ।

विगतको तुलनामा खाद्यान्न विक्री दोब्बर बढेको मार्तडी डिपो प्रमुख मेखराज ओझाले जानकारी दिए । स्थानीय तहहरुलाई खाद्यान्न दिँदा पछि अभाव हुने संकेत देखिएको उनले बताए । ‘डिपोमा यो बेला जति मौज्दात हुनुपर्ने हो, त्यति छैन । भएको पनि बेच्नुपरिरहेको छ,’ डिपो प्रमुख ओझाले समस्या सुनाए ।

लकडाउन थपिए खाद्यान्न अभाव हुनसक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेश कार्यालय प्रमुख अनिलकुमार श्रेष्ठले बताए । हाल कञ्चनपुर र कैलालीको डिपोमा १ हजार तथा टिकापुरस्थित मिलमा १२ हजार क्वीन्टल धान मौज्दात रहेको उनले जानकारी दिए । ‘अहिले दुर्गम पहाडी जिल्लाका डिपोहरुमा खाद्यान्न मौज्दात गर्नुपर्ने समय हो । तर उल्टो धमाधम विक्री भइरहेको छ । लकडाउन अझै थपिए अभाव बढ्ने देखिन्छ,’ उनले भने ।

मौज्दात रहेको धान कुटाउने काममा बाधा नभए पनि आवश्यक सामग्री र पल्लेदार नपाइने समस्या रहेको खरिद केन्द्र प्रमुख चेतमान कठायतले बताए । उनका अनुसार स्थानीय प्रशासनसँगको समन्वयमा धान कुटाउने काम भने निरन्तर भइरहेको छ ।

प्रकाशित समय १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु