गृहपृष्ठ भारतमा रेल खुलेपछि सुदूरपश्चिममा बज्यो खतराको घण्टी

भारतमा रेल खुलेपछि सुदूरपश्चिममा बज्यो खतराको घण्टी

प्रदेश सरकारसँग छैन व्यवस्थापनको योजना

स्वदेश प्रवेशको अनुमति पर्खेर दशगजा क्षेत्रमा बसिरहेका नेपालीहरू । (फाइल तस्बिर)

औपचारिक तथ्यांक नभए पनि भारतमा रोजगारीका लागि जाने नेपालीमध्ये सुदूरपश्चिमकै बासिन्दा सबैभन्दा बढी हुने गरेका छन् । प्रशासनबाट चेकजाँच हुँदै वा चोरबाटो प्रयोग गरेर कामको खोजीमा भारतको विभिन्न स्थानमा पुगेका हजारौँ सुदूरपश्चिमेलीहरु यसअघि पनि नेपाल भित्रिइसकेका छन् ।

विविध कारणले उतै रोकिएकाहरु पनि भारत सरकारले सञ्चालन गरेको विशेष रेलको सुविधा प्रयोग गरेर सीमा नाकामा आउने क्रम सुरु भइसकेको छ । भारतीय रेल सेवाका कारण सुदूरपश्चिमका विभिन्न सीमा क्षेत्रमा नेपालीहरुको चाप अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

यही परिस्थितिलाई ध्यान दिँदै केही दिनअघि बनवासास्थित क्वारेन्टाइनमा रहेका दुई सयभन्दा बढी नेपालीलाई भारतीय पक्षले रातारात नेपाल पठाएको थियो । सीमा क्षेत्रमा थप नेपाली आउन सक्ने र उनीहरुलाई पनि केही दिन सुरक्षित राख्नुपर्ने भएकाले भारतले झण्डै डेढ महिनादेखि आफ्नो क्वारेन्टाइनमा रहेका दुई सयभन्दा बढी नेपालीलाई गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गराएको थियो ।

विशेष रेलबाट सीमा क्षेत्रमा आउने नेपालीको व्यवस्थापनका लागि प्रदेश सरकारले योजना बनाएको छैन । सुदूरपश्चिम प्रदेशमा पनि खुला सिमानाका कारण चोरबाटोबाट प्रवेश गर्नेहरु ठूलो चुनौती बन्ने निश्चित छ । कैलालीको त्रिनगर भन्सार नाका, कञ्चनपुरको गड्डाचौकी नाका र टिकापुरको खक्रौला नाकाबाट नेपालीहरु आउने सम्भावना बढी छ । पहाडी जिल्लाका नाकासम्म भने रेल नपुग्ने भएका कारण त्यति ठूलो समस्या नहुने आँकलन गरिएको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले अहिलेको अवस्थामा भने प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि परीक्षणको दायरा दावी गरे । मन्त्री सुवेदी पनि भारतमा रहेका सबै नागरिक एकैपटक आए थेग्न सक्ने अवस्था नरहेको बताउँछन् । लाखौँको संख्यामा भारतमा रहेका नेपालीहरु स्वदेश भित्रिन खोज्ने भएकाले एकैचोटी उनीहरुको व्यवस्थापन गर्न समस्या हुने उनको भनाइ छ । ‘संघीय सरकारले अनुमति दिए नाकामा आएकाहरुलाइ स्वदेश भित्र्याउन त सकिएला तर एकसाथ सबैको व्यवस्थापन गर्न भने कठिन छ,’ उनले भने । अहिले प्रदेशमा क्वारेन्टाइन र कोरोना अस्पताल निर्माण लगायतका अन्य अतिआवश्यक कामहरु भइरहेको मन्त्री सुवेदीले जानकारी दिए ।

‘आफ्नो नागरिकलाई स्वदेश भित्र्याउनैपर्छ’

सुदूरपश्चिम प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने आफ्ना नागरिक सबैलाई नेपाल भित्र्याएर व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै आएको छ । भारतमा मजदुरी गुमेर भोकभोकै मरेको स्मरण गराउँदै प्रदेशसभामा कांग्रेसका नेता डा. रणबहादुर रावलले आफ्ना नागरिक सबैलाई सरकारले स्वदेश भित्र्याउनुपर्ने बताए ।

‘भारतले रेल सेवा सुरु गरेर नेपालीलाई समेत सिमा क्षेत्रसम्म छोड्ने भनेको छ । सबै नेपाली घर आउन खोज्छन् । सबैलाई स्वदेश भित्र्याउन तीनै तहका सरकारले पहल थाल्नुपर्छ,’ कांग्रेस नेता रावलको भनाइ छ । यसका लागि ठूलो क्षमताको क्वारेन्टिन निर्माणमा लागिहाल्नु पर्ने रावलले प्रदेश सरकारलाई सुझाव दिए । प्रदेश सरकारले कोरोना रोकथामका लागि केही प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको उनले बताए । विगतमा धेरै गल्ति भइसकेकाले अब भने तीन तहकै सरकारले समयमै ख्याल गर्नुपर्ने रावलको भनाइ छ ।

भारतमा रहेका सबै नेपाली फर्के चुनौती

भारतमा भएका सबै नेपाली स्वदेश फर्किए नेपालका लागि ठूलो चुुनौती हुुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । भारतीय क्वारेन्टिनमा समयअवधि पूरा गरेर घर फर्किरहेकाहरुको पनि अनिवार्य कोरोना परिक्षण गरिनुुपर्ने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हेमराज पाण्डेयले बताए । ‘भारतमा रहेका सबै नेपाली स्वदेश फर्किने हो भने कोरोनाले महामारी रुप लिन सक्छ,’ पाण्डेयले भने ‘उनीहरुको उद्धार गरी क्वारेन्टिनमै राख्न अहिलेको अवस्था हेर्दा सम्भव छैन ।’ त्यसैले हाललाई जो जुन स्थानमा छ, सोही ठाउँमा बसे सुरक्षित रहन सकिने उनी बताउँछन् ।

प्रकाशित समय १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु