गृहपृष्ठ बन्दाबन्दीको सदुपयोग गरेर सामुदायिक भवन निर्माणमा श्रमदान
बन्दाबन्दीको सदुपयोग गरेर सामुदायिक भवन निर्माणमा श्रमदान
फाइल तस्बिर
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीको फुर्सदलाई सदुपयोग गरेर म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका महिला श्रमदान गरेर सामुदायिक भवन निर्माणमा जुटेका छन् ।
पिप्लेस्थित रघुगङ्गा हाइड्रोपावरको आवास तथा कार्यालय नजिकै उदा आमा समूहको सामुदायिक भवन निर्माण गर्न स्थानीयवासी श्रमदानमा जुटेका हुन् । लकडाउनको फुर्सदको समय उपभोग र चन्दा संकलन गरेर भवन निर्माण गर्न लागिएको आमा समूहका अध्यक्ष उदा मल्लले जानकारी दिए ।
‘एक महिनायता आलोपालो गरेर भवन निर्माणका लागि श्रमदान गरिरहेका छन्,’ उनले भने, ‘६० घरधुरीले हालसम्म २० दिनका दरले श्रमदान गरिसकेका छन् । भवन सकिँदासम्म थप १५ दिन श्रमदान गर्नुपर्ने अनुमान गरेका छौँ ।’
गिट्टी कुट्ने, पर्खाल लगाउने, ढुङ्गा संकलन गर्ने, काठ जुटाउने, ढुवानी गर्नका लागि उनीहरुले श्रमदान गरेका हुन् । घरायसी र खेतबारीको कामबाट बचेको समय भवन निर्माणमा उपयोग गरेको गरेको समूहकी सहसचिव दुर्गा शाहीले बताए । ‘बन्दाबन्दी र कोरोनाको त्रासले गाउँमा सामाजिक, सांस्कृतिक गतिविधि ठप्प भएका छन्,’ उनले भने, ‘खेतबारीको काम पनि सकिएकाले फुर्सदको समयलाई भवन निर्माणमा लगाएका छौँ ।’
गत चैत महिनादेखि भवन निर्माण सुरु भएको थियो । भवन निर्माणका लागि समूहले पाँच लाख रुपैयाँमा करिब चार आना जग्गा किनेको थियो । एकतले भवनको पहिलो तला ढलानको तयारी गरेका छन् । मिस्त्री र ढलानको काममा भने मजदुर परिचालन गरेका छन् । २३ लाख रुपैयाँ लागत अनुमान गरिएको भवनका लागि चन्दासमेत जुटाउन थालिएको छ । हालसम्म सरकारी निकायबाट सहयोग लिएका छैनन् । भवनलाई आर्थिक स्रोतको कमी भएकाले श्रमदान गरेर भवन निर्माणमा सहयोग गरेको स्थानीयवासी गणेशप्रसाद सुवेदीले बताए ।
भवन नहुँदा व्यक्तिको घरमा भेला बैठक बस्ने गरेका छन् । समूहका भाँडाकुँडा पनि व्यक्तिकै घरमा राख्नुपर्दा असजिलो भएको छ । तीनकोठे भवन बनेपछि कार्यालय सञ्चालन, भण्डारणका साथै तालिम, गोष्ठी, बैठक सञ्चालन गर्न सहज हुने जनाइएको छ । भवन निर्माणका लागि सघाउन वडा, गाउँपालिका र दातालाई आमा समूहका पदाधिकारीले अपिल गरेका छन् । (रासस)
प्रकाशित समय १०:१२ बजे

















