गृहपृष्ठ बुवाको हत्या गरेर छोरी फरार
बुवाको हत्या गरेर छोरी फरार
इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका- ६, शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् ।
शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने गरेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी इन्स्पेक्टर राजकिशोर शाहले जानकारी दिए ।
उनका अनुसार रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झगडा भएको थियो ।
फुलबहादुरको टाउकोमा चोट देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने बताइएको छ । ‘गहिरो चोट नदेखिएका कारण धारिलो हतियार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ,’ इन्स्पेक्टर शाहले भने ।
कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएको र हिजो दिउँसो पनि झगडा भएपछि गाउँमा सुत्न गएको बताइएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छोरी सुष्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ । (रासस)
प्रकाशित समय १२:२८ बजे

















