गृहपृष्ठ कोरोना संक्रमणलाई क्वारेन्टिनमै सीमित राख्ने कर्णाली प्रदेशको तयारी
कोरोना संक्रमणलाई क्वारेन्टिनमै सीमित राख्ने कर्णाली प्रदेशको तयारी
वीरेन्द्रनगरस्थित क्वारेन्टिन । (फाइल तस्बिर)
करिब दुई महिनाको अवधिसम्म कर्णाली प्रदेश ‘ग्रिन जोन’का रुपमा रह्योे । कर्णालीका नागरिक देशभरका प्रदेशमध्ये सबैभन्दा बढी भारतमा रोजगारी गरेकै भरमा गुजारा चलाउँछन् । यहाँका नागरिक भारतकै भर पर्ने भएकाले कर्णालीमा कोरोनाको बढी जोखिमको आँकलन अधिकांशले गरेको थिए । नेपाल सरकारले गरेको बन्दाबन्दीको समयमा समेत थुप्रै कर्णालीवासी बाहिरबाट प्रदेश भित्रिए । तर कोरोनाको संक्रमण भने शुन्य नै थियो ।
गत जेठ ३ गते १४ दिन महेन्द्रनगरको क्वारेन्टिनमा बसेर आएका दैलेख, आठबिस नगरपालिकाका ३५ वर्षीय युवामा कोरोना संक्रमण देखियो । उनीसमेत स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका थिए ।
कर्णालीलाई ग्रिन जोन बनाउने सपना असफल भए पनि कोरोना संक्रमणलाई समुदायमा फैलन नदिनका लागि गृहकार्य भइरहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी प्रमुख रीता भण्डारीले बताएकी छन् । बाहिरबाट आउने नागरिकलाई अनिवार्य आरडीटी र पीसीआर विधिबाट परीक्षण गराउने, अनिवार्य क्वारेन्टिनमा राख्ने लगायतका कामहरु भइरहेको बताइन् ।
‘हामी कोरोनालाई क्वारेन्टिनमै सीमित राख्छौँ,’ उनले भनिन्, ‘समुदाय स्तरमा अहिले फैलिएको छैन । फैलन नदिने गरी हामीले तयारी गरेका छौँ ।’ यसको लागि आवश्यक स्वास्थ्य सामग्री, समुदाय स्तरमा स्वास्थ्यकर्मीहरु र औषधि तयारी अवस्थामा रहेको उनले जानकारी दिइन् ।
उनका अनुसार हालसम्म प्रदेशका दशवटै जिल्लामा गरी पीसीआर मेसिनबाट ३४ सय ४४ को स्वाब परीक्षण गरिएको छ । त्यस्तै ९ हजार ९ सय ९१ को आरडीटीबाट कोरोना परीक्षण गरिएको छ । ५ सय २० वटा आईसोलेसन बेड र २२ वटा आईसीयू कक्षको समेत व्यवस्था गरिएको उनले बताइन् । कर्णालीमा यदि कोरोनाले महामारीकै रुप लियो भने पनि थेग्न सक्नेगरी तयारी गरिएको उनको दावी छ । कर्णाली प्रदेश अहिले पनि डेन्जर जोन नमानिएको उनले बताइन् ।
प्रकाशित समय १९:२५ बजे

















