गृहपृष्ठ नेपालीलाई स्वदेश भित्र्याउन दुई देश बिचको सम्झौता बाधक
नेपालीलाई स्वदेश भित्र्याउन दुई देश बिचको सम्झौता बाधक
स्वदेश प्रवेशको अनुमति पर्खेर दशगजा क्षेत्रमा बसिरहेका नेपालीहरू । (फाइल तस्बिर)
दुई देशबीच भएको सम्झौताका कारण नेपाली नागरिकलाई स्वदेश भित्र्याउन समस्या भएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताएका छन् । लकडाउनको समयमा नेपाल र भारतका नागरिकलाई जो जुन देशमा छन् सोही देशमा नै बस्ने गरी दुई देशबीच सम्झौता भएको हुँदा नेपालीहरुलाई स्वदेश भित्र्याउन कठिनाई भएको मेयर विष्टको भनाइ छ ।
विभिन्न सामाजिक सञ्जालमा नेपाली नागरिकले सीमामा दुख पाइरहँदा पनि सरकारले उनीहरुलाई सुरक्षित घर फर्काउन पहल नगरेको भन्दै विरोध भइरहेका बेला नगर प्रमुख विष्टले दुई देशबीच कुरा भइरहेको र छिट्टै नेपाली नागरिकहरुलाई स्वदेश फर्काइ सम्बन्धित पालिकामार्फत सुरक्षित रुपमा व्यवस्थापनको लागि पहल भइरहेको बताए ।
खुला सिमानाका कारण भीमदत्त नगरपालिका उच्च जोखिममा रहेको छ । हजारौंको संख्यामा नेपालीहरु विभिन्न नाकाबाट भित्रिन सक्ने भएकाले सबैसँग समन्वय गरेर सुरक्षित व्यवस्थापनको लागि पहल गरिनेसमेत नगर प्रमुख विष्टले बताए । वैशाख २७ गते बसेको कार्यपालिका बैठकले छिटोभन्दा छिटो नेपाली नागरिकलाई स्वदेश फर्काउन र सुरक्षित चेकजाँच गरी व्यवस्थापन गर्न सरकारसँग अपिल गरेको उनले जानकारी दिए ।
भारतीय नागरिकहरुले समेत भारत सरकारले अन्य देशबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइ सक्दा पनि छिमेकी राष्ट्र नेपालबाट आफूहरुलाई फर्किन नदिएको बताएका छन् । लकडाउनका कारण काम गर्न नपाउँदा खान र बस्न समस्या परेका कारण घर फर्किन दिनहुँ सीमामा पुग्ने गरेको तर भारत प्रवेश नपाउँदा दुख पाइरहेको नेपालमा काम गर्ने भारतीय मजदुरहरुको गुनासो छ ।
खुला सीमा नाकाका कारण दैनिक रुपमा लुकीछिपी नेपाली नागरिकहरु नेपाल भित्रिरहेको भए पनि भारत सरकारले भने कोरोना भित्रिन सक्ने भन्दै लकडाउन सुरु भएदेखि नै आफ्ना नागरिकलाई भारत प्रवेश गर्न दिएको छैन ।
प्रकाशित समय २०:३२ बजे

















