गृहपृष्ठ झगडा मिलाएर गाउँबाट फर्कँदै गर्दा प्रहरी इञ्चार्जको बाटैमा निधन
झगडा मिलाएर गाउँबाट फर्कँदै गर्दा प्रहरी इञ्चार्जको बाटैमा निधन
नजिकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजंघा गाउँपालिका- ७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज असइ बालकुमार राईको बाटैमा निधन भएको छ । सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा बाटैमा बिरामी पर्नुभएका राईको गए राति निधन भएको हो ।
बुधबार दिउँसो झगडा मिलाएर फर्कने क्रममा बीच बाटोमा नै अचानक बान्ता भएको र हिँड्न नसक्ने अवस्था भएकाले बाटैमा पर्ने खेवाङस्थित कुमार सार्कीको घरमा रहेका राईको राति निधन भएको वडाध्यक्ष नरेन्द्र तिवारीले जानकारी दिए ।
राईसँग प्रहरीचौकीमा कार्यरत हवल्दार र एक जवानसमेत साथमा थिए । खेवाङ प्रहरी चाैकीमा करिब दुई हप्ताअघि मात्रै इञ्चार्जको जिम्मेवारी सम्हाल्न पुगेका राईको घर भोजपुर रहेको र हाल दमकमा बसोबास रहेको बुझिएको अध्यक्ष तिवारीले बताए ।
सदरमुकामबाट जिल्ला प्रहरी प्रमुख डीएसपी महेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।
प्रकाशित समय ११:३० बजे

















