गृहपृष्ठ सीमा नाकामा आएपछि झनै जोखिम

सीमा नाकामा आएपछि झनै जोखिम

सीमा क्षेत्रसम्म भारतीय गाडी रिजर्भ गरेर आइपुगेका हजारौँ नेपालीहरु कैलालीको त्रिनगर नाका हुँदै दैनिक हजारौँको संख्यामा स्वदेश भित्रिरहेका छन् । स्वास्थ्य जाँच लगायतको उचित व्यवस्थापन हुन नसक्दा नाकामा आई पुगेपछि उनीहरुमा कोरोना संक्रमणको जोखिम झनै बढेको छ ।

भारतको विभिन्न स्थानबाट एकैपटक ठूलो संख्यामा मानिसहरु सीमा नाकामा आएपछि कोरोना संक्रमणको जोखिम झनै बढेको छ । सुदूरपश्चिमका अन्य नाकाबाट छिटफुट रुपमा मात्रै उद्धार भइरहे पनि त्रिनगर नाकाबाट दैनिक २ देखि ४ हजारसम्मको उद्धार भइरहेको छ ।

एकैपटक उद्धार गर्दा स्वस्थ मानिसलाई पनि कोरोना संक्रमण हुने सम्भावना बढेको स्वयं नेपाल भित्रिने उनीहरु बताउँछन् । दार्चुलाको शैल्यशिखर नगरपालिकाका लोकेन्द्र कामी भारतको दिल्लीबाट स्वदेश आउन कैलालीको त्रिनगर नाका आइपुगेका थिए । भारतबाट ३ वटा जिप रिजर्भ गरी १६ जनाको समूहमा उनीहरु नेपाल-भारत सीमासम्म आएका हुन् । भारतबाट सुरक्षित नै आएका उनीहरु नेपाल प्रवेश गर्ने क्रममा हजारौँको हुलमा मिसिनु परेपछि आफू असुरक्षित रहेको महसुस गरिरहेका थिए । भारतका विभिन्न स्थानबाट आएकाहरु सबैको एकै ठाउँमा भीडभाड हुँदा कोरोना संक्रमणको निकै जोखिम बढेको कामीले बताए ।

डोटीका नवराज जोशी पनि गाउँका केही व्यक्तिहरु मिलेर गाडी रिजर्भ गरेर भारतको नासिक सहरबाट सीमासम्म आइपुगे । नाकाको भीडभाडले आफूहरुमा संक्रमणको जोखिम झनै बढेको उनी बताउँछन् । ‘भारतबाट सुरक्षित तरिकाले नेपालसम्म आए पनि नाकाको यो भीडले निकै जोखिम तनाव दिइरहेको छ,’ उनले भने ।

कमैको मात्र परीक्षण

लकडाउनपछि करिब २ महिनासम्म सीमा नाकाहरु पूर्ण बन्द गरे विभिन्न निकायको दबाव र आग्रहपछि सरकारले निर्णय परिवर्तन गरेको हो । पछिल्लो समय नाकासम्म आइपुगेकाहरुलाई स्वास्थ्य जाँच गर्दै सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउने गरिएको छ । एकै दिन २-३ हजार जना नेपालीहरु सीमा क्षेत्रमा आइपुग्न थालेपछि दुई देशका प्रशासनले माथिल्लो निकायसँग समन्वय गरेर आ-आफ्नो नागरिक स्वदेश भित्र्याइरहेका हुन् ।

हाल आएर असुरक्षित तरिकाले स्वदेश भित्र्याइँदा दुई महिनासम्म सीमा सिल गर्नुको कुनै अर्थ नरहेको स्थानीयवासीहरु बताउँछन् । सुरुबाटै थोरै-थोरै गरेर मानिस भित्र्याएको भए यस्तो समस्या झेल्नु नपर्ने कैलाली उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुस्कर ओझाको भनाइ छ । अब यसले सुदूरपश्चिममा महामारीको रुप लिनसक्ने उपाध्यक्ष ओझा बताउँछन् ।

कैलालीको त्रिनगर नाकाबाट पाँच दिनमा करिब ९ हजार नेपालीको उद्धार गरिएको छ । जेठ २ गतेदेखि गत शनिबारसम्म सो नाकाबाट ८ हजार दुई सय ७९ जनाको उद्धार गरिएको प्रहरी तथ्यांकमा उल्लेख छ । उद्धार गरिएका अधिकांशलाई सम्बन्धित स्थानीय तहमा पठाइएको छ । हालसम्म उद्धार गरिएकामध्ये कमैको मात्र स्वास्थ्य परीक्षण गरिएको छ । जेठ २ र ३ गते भित्रिएका नौ सय ५० जनाको र्‍यापिड टेष्ट र महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण गरिएको थियो । भारतबाटै आएका ४ जनामा कोरोना पुष्टि भइसकेको छ ।

एकै दिन ३५ सय नेपाल प्रवेश

कैलालीको त्रिनगर नाकाबाट हिजो आइतबार मात्रै करिब ३ हजार ५ सय मानिस स्वदेश भित्रिएका छन् । कोरोनाका कारण रोजगारी गुमाएर आएका उनीहरुलाई नाकामा केही संघ-संस्थाले खाना तथा पानीको व्यवस्था गरे पनि प्रदेश सरकारको ध्यान त्यसमा जान सकेको छैन ।

कैलालीको गौरीफन्टा नाकाबाट सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्धार सोमबार पनि जारी छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भारतका विभिन्न क्षेत्रबाट गौरीफन्टा नाकासम्म आएकाहरुको उद्धार भइरहेको हो । उनीहरुलाई लिन केही स्थानीय तहले सवारी साधनको व्यवस्था गरे पनि धेरैको अवस्था दयनीय छ । भारतमा रोजगारी गुमाएर समस्यामा परेर स्वदेश फर्किएका आफूहरुलाई राज्यले पनि उचित व्यवस्था नगरेको उनीहरुको गुनासो छ ।

खाना र खाजाका लागि संघ-संस्थाकै भर

सिमानामा अलपत्र परेका नेपालीलाई कैलाली उद्योग वाणिज्य संघले हरेक दिन खाजाको व्यवस्था गर्दै आएको छ । उद्योग वाणिज्य संघले आइतबार पनि ५० पेटी चाउचाउ र पानीको व्यवस्था गरेको हो । सीमा नाकासम्म आइपुगेका नेपालीहरुका लागि संघले हरेक दिन खाजा र पानीको व्यवस्था गरिरहेको अध्यक्ष पुष्पराज कुँवरले बताए ।

प्रकाशित समय १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु