गृहपृष्ठ सीमा क्षेत्रमा अलपत्र साढे १३ सयको सकुसल उद्धार

सीमा क्षेत्रमा अलपत्र साढे १३ सयको सकुसल उद्धार

फाइल तस्बिर

भारतका विभिन्न  ठाउँबाट फर्किएर नेपाल‑भारत सीमा क्षेत्रमा अलपत्र परेका गण्डकी प्रदेशका साढे १३ सयभन्दा बढीको उद्धार गरिएको छ । नोबेल कोरोनाभाइरस (कोभिड १९)का कारण भारतमा लकडाउन भएपछि सीमा क्षेत्रमा आइपुगेर अलपत्र परेका उनीहरूको उद्धार गरिएको हो ।

प्रदेश भित्रिने मुख्य तीन नाकाबाट १ हजार ३७१ जनाको उद्धार गरिएको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी एसएसपी किरण रानाले जानकारी दिइन् । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै नवलपुरका ३३५ जना घर फर्किएका छन् । त्यस्तै बागलुङका ३३१, तनहुँका २४०, स्याङ्जाका १९०, म्याग्दीका १२२, लमजुङका ४५, पर्वतका ३९, कास्कीका ३८, गोरखाका ३० र मनाङका एक जना घर फर्किएका छन् ।

हालसम्म १० हजारको कोरोना परीक्षण

गण्डकी प्रदेशमा हालसम्म साढे ९ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । पिसिआर र आरडिटी दुवै विधिबाट गरेर ९ हजार ७१६ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यसमध्ये दुई हजार १५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म २ हजार ४४ जनाको स्वाब संकलन गरिए पनि  २९ जनाको रिपोर्ट आउन बाँकी छ । स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा ७ हजार ७०१ जनाको आरडिटीमार्फत कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित समय ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु