गृहपृष्ठ सुदूरपश्चिम प्रदेशसभा अधिवेशन : बजेट, सीमा अतिक्रमण र कोरोना महामारी चर्चामा

सुदूरपश्चिम प्रदेशसभा अधिवेशन : बजेट, सीमा अतिक्रमण र कोरोना महामारी चर्चामा

सुदूरपश्चिम प्रदेशसभाको छैठौं बर्खे अधिवेशन सुरु भएको छ । विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड- १९ को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै सुरक्षाका उपाय अवलम्बन गरेर अधिवेशन सञ्चालन गरिएको हो । बैठकमा आगामी बजेटका साथै सीमा अतिक्रमण र काेराेना महामारीका बारे चर्चा भएकाे थियाे ।

अधिवेशनको सुरुमा बोल्दै नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले सीमामा पुगेका नागरिकहरुलाई सहज तरिकाले सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा पठाउनुपर्ने विषयमा जोड दिएका छन् । उनले भने, ‘भारतबाट आएकाहरुलाई सुरक्षित साथ गन्तव्यतर्फ पठाउनुपर्छ ।’ स्वास्थ्य सामग्रीमा कालोबजारी भइरहेको औंल्याउँदै उनले त्यो रोक्नुपर्ने बताए । उनले कामको खोजीमा भारत जानेहरुलाई स्वदेशमै रोजगारी दिनगरी बजेट ल्याउनु पर्नेमा जोड दिए । ‘प्रदेश पूर्वाधारको बजेट मंसिर अन्तिममा सबै योजना दिइसकेको अवस्था थियो । त्यो बजेट हालसम्म कार्यान्वयन भएन । किन ति योजनाहरु बेवारिसे छन् ? कसले कार्यान्वयन गर्ने हो ?’ उनले प्रश्न गरे । क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी कि पीसीआर गर्ने विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

सचेतक तामाङ ।

प्रदेशसभाको गरिमा राख्ने सांसदको सुझावलाई आत्मसात गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने सचेतक तामाङको भनाइ थियो । ‘धेरै मन्त्रीहरु बोल्ने मात्रै, गर्ने कम देखिएको छ । जति बोल्यो त्यति काम गर्नुस,’ उनले भने । विगतमा धेरैजसो सांसदलाई बाइपास गरेर बजेट ल्याएको बताउँदै उनले अब भने सबैलाई समेटेर बजेट नल्याए पास नगर्ने बताए ।

नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए । उनले सीमा क्षेत्रमा सुरक्षाकर्मीको निगरानी बढाउनुपर्ने बताए । ‘अन्तर्राष्ट्रिय विषयमा प्रदेश सरकारको अधिकार नभए पनि सीमामा बलियो उपस्थिति तथा घेराबार लगाउन बजेट बिनियोजन गर्नु पर्ने उनको भनाइ थियो ।

प्रदेशको २८ लाख जनसंख्यामध्ये आधाजसो रोजगारीका लागि भारत गएको उल्लखे गर्दै उनले अब प्रदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताए । अहिले भारतबाट फर्किएकाहरुको व्यवस्थापन र रोजगारीका लागि सुदूरपश्चिम सरकारले ग्यारेण्टी लिनुपर्ने उनको नेता रावलको भनाइ थियो । ‘सरकारलाई आफूले निकै काम गरेकोजस्तो लागेको होला तर जनतामा भने सरकार छ कि छैन भन्ने प्रश्न उठेको छ,’ उनले भने । प्रदेश सरकारले एउटा स्थानीय तहले जति पनि काम देखाउन नसकेको उनको आरोप थियो । हालसम्म २७ प्रतिशत मात्रै बजेट खर्च भएको जनाउँदै नेता रावलले भने, ‘पहिलो वर्ष नयाँ संरचना भननि दोस्रो वर्षबाट त बजेट खर्च सुधार्नुपर्छ । जेठ र असारमा मात्रै बजेट खर्च गर्ने परम्पराले गुणस्तरीय काम हुँदैन ।’ हाल खर्च नभएको बजेटलाई कोरोना नियन्त्रणमा खर्च गर्नुपर्ने उनको सुझाव छ ।

नेता रावल ।

अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सम्मान गर्नुपर्ने बताउँदै उनले आवश्यक स्वास्थ्य सामग्री तत्काल खरिद गर्नुपर्ने बताए । लकडाउनका कारण आगामी दिनमा भोकमरी लाग्न सक्नेतर्फ पनि सरकार सचेत हुनुपर्ने नेता रावलले बताए ।

कोरोना महामारीका कारण दुई महिनादेखि लकडाउन पालना गरेर घरमा बसिरहेका नागरिकले लकडाउनको विकल्प खोज्न आग्रह गरिरहेको जनता समाजवादी पार्टीकी सांसद मालामती रानाले बताइन् । सीमामा अलपत्र नागरिकको उद्धार र व्यवस्थापन फितलो रहेको उनको भनाइ थियो । ‘प्रदेश सरकारले ४० करोडको कोरोना महामारी नियन्त्रण कोषको स्थापना गरेको थियो । के केमा खर्च भयो त्यो भनेट रानाको प्रस्न छ ? प्रदेश सरकारभन्दा स्थानीय तह बढी सक्रिय छ,’ उनले भनिन् ।

सन् १९५० को दस्तावेजअनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै रहेको स्पष्ट हुँदाहुँदै पनि शासकहरु चुप लागेकोप्रति उनले आक्रोश पोखिन् । सत्तामा पुग्न र सत्ता जोगाउन भारतको गुलामी गर्ने प्रवृत्तिले भारतले हेला गरेको उनको तर्क छ ।

सांसद राना ।

प्रदेशसभामा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले अहिलेको अवस्थालाई मध्यनजर गर्दै बजेट आउने बताए । कोरोनाका कारण भएको क्षतिलाई पूर्ति गर्ने किसिमले बजेट ल्याउने मन्त्री बोहराले स्पष्ट पारे । ‘प्रदेशको स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइन्छ,’ उनले भने ।

महामारीको अग्रपंक्तिमा रहेर काम गर्ने सबैको मूल्यांक गरिने पनि मन्त्री बोहराले बताए । कोरोना रोग व्यवस्थापनमा निकै चुनौती भए पनि प्रदेशले चुनौतीको सामना गरिरहेको उनले उल्लेख गरे । मन्त्री बोहराले भने, ‘चालु आर्थिक वर्षको बजेट खर्चमा कोरोनाका कारण निकै प्रभाव पारेको छ । अब रोजगारी श्रृजना हुने गरी आर्थिक विस्तारलाई प्राथमिकतामा राखिन्छ ।’

प्रकाशित समय २२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु