गृहपृष्ठ म्याग्दीमा थप एक जनामा डेंगु संक्रमण
म्याग्दीमा थप एक जनामा डेंगु संक्रमण
म्याग्दीमा शुक्रबार थप एक जनामा डेंगु संक्रमण देखिएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएका मंगला गाउँपालिका–३ बरङ्जाका ४९ वर्षीय पुरुषलाई डेंगु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए ।
बिरामीको ट्राभल हिष्ट्री नभएकाले ग्रामीण क्षेत्रमै डेंगु फैलिने एडिस जातको लामखुट्टे सक्रिय रहेकाले सचेत हुनुपर्ने सुवेदीको भनाइ छ । योसँगै वैशाख र जेठ महिनामा मंगला गाउँपालिकामा चार जनामा डेंंगु पोजेटिभ देखिएको छ भने जिल्लाभर सक्रमितको संख्या १४ पुगेको छ । बेनी अस्पतालमा छिमेकी जलजला गाउँपालिकाबाट समेत उपचारका लागि आएकी एक वृद्धामा डेंगु देखिएको थियो । वैशाख ९ गते पहिलो डेंगु संक्रमित अर्मनका १७ वर्षीय युवामा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको थियो ।
गत वर्ष म्याग्दीमा १२ मा डेंगु र एक जनामा स्क्रब टाइफसका देखिएको थियो । डेंगु ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो । डेङ्गु एक बिरामीबाट अर्को बिरामीमा सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ ।
म्याग्दी देशरभरमै डेंगु संक्रमण फैलिने जिल्लामा रुपन्देही पछि दोस्रोमा छ भने गण्डकी प्रदेशका ११ जिल्लामा पहिलो स्थानमा छ । स्वास्थ्य कार्यालयले गरेको सर्वेक्षणमा डेङ्गु सार्ने लामखुट्टे बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा अत्यधिक भेटिएको थियो ।
कोरोना कोषमा छ लाख
कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा म्याग्दीको मंगला गाउँपालिकाका शिक्षकले तीन दिनको पारिश्रमिक छ लाख रूपैयाँभन्दा बढी सहयोग गरेका छन् । नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संघठन, नेपाल शिक्षक सङ्घ र एकीकृत नेपाल राष्ट्रिय शिक्षक संघले संयुक्त पहलमा संघीय सरकारको कोरोना कोष र गाउँपालिकाले स्थापना गरेको आपत्कालीन कोरोना कोषमा गाउँपालिकाभित्रका ४० विद्यालयका २०० शिक्षक, ४७ कर्मचारी र ४४ बालविकास सहजकर्ताले रु छ लाख ३० हजार ९४३ हस्तान्तरण गरेका छन् ।
गाउँपालिकाको कोषमा दुई दिनको तलब चार लाख २० हजार ६२९ रुपैयाँ र संघीय कोषमा दुई लाख १० हजार ३१४ भएको जम्मा गरिएको एकीकृत अखिल नेपाल शिक्षक संक्रठनका अध्यक्ष होमनाथ पाण्डेले जानकारी दिए ।
प्रकाशित समय १०:०३ बजे

















