गृहपृष्ठ हिरासतमा ज्यान गुमाएका शम्भु सदा घटनाबारे किन उजुरी लिँदैन प्रहरी ?

हिरासतमा ज्यान गुमाएका शम्भु सदा घटनाबारे किन उजुरी लिँदैन प्रहरी ?

प्रहरी भन्छ : जाहेरी नै परेको छैन, पीडित परिवार भन्छ : प्रहरी किटानी जाहेरी दर्ता गर्नै मान्दैन

गत जेठ २७ गते राति इलाका प्रहरी कार्यालय सवैलाको हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा भेटिएका सम्भुसदा मुसहरको घटनाबारे प्रहरीले उजुरी लिन नमानेको पीडित परिवारले बताएका छन् ।

२२ वर्षीय स्थानीय शम्भुसदा मुसहरको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको किटानी जाहेरी प्रहरीले जेठ ३१ गते (शनिबार) जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको किटानी जाहेरी दर्ता नगरेको उनीहरूको दावी छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले घटनाबारे जाहेरी नै नपरेको बताइरहेका छन् । घटनाबारे अनुसन्धान गर्न समस्या भएको बताएपछि पीडित परिवारलाई जाहेरी दिन जाँदा प्रहरीले दर्ता नै नगरेको मृतकका आमा सियालीदेवी सदाले बताइन् ।

सवैलाका स्थानीय मोहन सदाका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित परिवारको तर्फबाट शम्भु सदाको हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक ४० वर्षीय चन्द्रभुषण यादव, सवैला नपा–१२ बस्ने ४२ वर्षीय टयाक्टर मालिक संजय साह, वडा नं. ९ का ३८ वर्षीय वडाध्यक्ष पारस साहलगायत ४ जनाविरुद्ध किटानी जाहेरी दिन खोजेका थिए ।

पीडित परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको किटानी जाहेरी दर्ता गरिएको छैन । जिल्ला प्रहरीका एसपी रमेश बस्नेतले विना नामको जाहेरी दिन भन्दै मुद्दा दर्ता नगरेको पीडितकी आमा सियालीदेवीले गुनासो गरिन् । शम्भु सदाको प्रहरी हिरासतमा हत्या भएको भन्दै शम्भु सदाको न्यायको लागि राष्ट्रिय मुसहर संघले जेठ २८ गतेदेखि निरन्तर दबावमुलक कार्यक्रम गर्दै आएको छ ।

पीडित परिवारले घटनाको न्यायिक छानविन समितिमार्फत् जाँचबुझ गर्न माग गर्दै आएको छ । घटना २७ गते राति नै भए पनि शवको पोष्टमार्टमसमेत हुन सकेको छैन । प्रादेशिक अस्पताल जनकपुरको पोष्टमार्टम रुपमा खुल्ला राखिएको शव कुहिएर गन्हाउन थालेको छ ।

शवको पोस्टमार्टम गर्न जेठ २८ गते जिल्ला प्रशासन कार्यालय धनुषाका सिडियो कार्यालयमा भएको सहमति अनुसार पोस्टमार्टम टीमसँग पीडित परिवारको तर्फबाट एक जना चिकित्सकको रहोवरमा पोष्टमार्टम गर्ने सहमति भए पनि प्रादेशिक अस्पताल जनकपुरले बाहिरको मान्छेलाई पोष्टमार्टममा राख्न नमिल्ने अडान लिएपछि शवको पोष्टमार्टम हुन नसकेको राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताए ।

प्रकाशित समय ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु