गृहपृष्ठ कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सचेतना अभियान
कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सचेतना अभियान
कोभिड- १९ (कोरोना)भाइरस संक्रमणको जोखिमलाई गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ । महाशाखालगायत मातहतका ३४ वटा ट्राफिक कार्यालयले ट्राफिक प्रहरीहरू परिचालन गरी कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउने विशेष अभियान आइतबारदेखि सुरू गरेको छ ।
महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालका अनुसार कोरोनाभाइरसबाट सडक प्रयोगकर्ताहरूमा हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य मुख्य चोक एवं भीडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भीडभ कम गराउनका लागि प्लेकार्ड सहितको ट्राफिक प्रहरी टोली खटाएको जानकारी दिए ।
यसको लागि प्लेकार्डमा ‘सधैँ मास्क लगाएर यात्रा गरौँ’, ‘जोर विजोर नियम पालना गरौँ’, ‘सवारी साधनमा सामाजिक दुरी कायम गरौँ’, ‘जथाभावी हिँडडुल नगरौँ’ र ‘ट्राफिक नियमको पालना गरौँ’ जस्ता नाराहरू लेखिएका छन् ।
महाशाखा तथा मातहतका ट्राफिक कार्यालयहरूबाट काठमाडौ उपत्यकाको ८२ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरीहरू परिचालन गरी यो विशेष अभियान सञ्चालन गरेको एसएसपी ढकालले बताए । ‘यस विशेष टोलीले सधैँ मास्क लगाएर यात्रा गर्न,जोर विजोर नियम पालना गर्न, सामाजिक दुरी कायम गर्न,जथाभावी हिँडडुल नगर्न, भीडभाड गरी नबस्न र यात्रा नगर्नका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न विशेष अनुरोध गर्नेछन्,’ उनले भने ।

आजदेखि दैनिक बिहान ०९:०० बजेदेखि ११:०० बजेसम्म र बेलुकी ०४:०० बजेदेखि ०७:०० बजेसम्म प्लेकार्ड देखाउने विशेष टोली परिचालन गरिएको महाशाखाका प्रवक्ता इन्स्पेक्टर जिवन कुमार श्रेष्ठले जानकारी दिए । ‘यात्रु तथा सडक प्रयोगकर्ताहरूलाई लक्षित गरी कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहनको लागि सचेतना अभियानमा ट्राफिक प्रहरी परिचालित गरिएको छ, यसमा नागरिक पनि त्यत्तिकै सचेत हुन जरूरी छ,’ श्रेष्ठले भने ।
प्रकाशित समय १५:०१ बजे

















