गृहपृष्ठ विदेशबाट आज २४ शव काठमाडौं ल्याइँदै (नामवलीसहित)
विदेशबाट आज २४ शव काठमाडौं ल्याइँदै (नामवलीसहित)
फाइल तस्बिर ।
विदेशमा ज्यान गुमाएका २४ नेपालीको शव शुक्रबार काठमाडौं ल्याइने भएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट २० र अन्य देशबाट ४ वटा शव दिउँसो काठमाडौं आइपुग्ने भएको छ ।
शुक्रबार दिउँसो १२ बजे ४३ जना नेपाली र २० वटा शव लिएर कतार एयरवेजको विमान काठमाडौं आउन लागेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । यीमध्ये ७ वटा शव काठमाडौँमै अन्त्येस्टि गर्ने र बाँकी बोर्डले नै घरसम्म पुर्याइदिने भएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार कतार एयरलाइन्समा कपिलवस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद भण्डलको शव आउँदै छ।
यसैगरी मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेछाका मंगलबहादुर तामाङ, बर्दियाको मोतीपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पञ्जियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका काशीदेव यादव, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव पनि कतार एयरलाइन्सले शुक्रबार काठमाडौं ल्याउँदै छ।
अन्य देशबाट चार शव आउँदै
साउदी अरब, यूएई र कुवेतबाट पनि चारवटा शव नेपाल ल्याइँदैछ । जजिरा एयरलाइन्सले कुवेतबाट दुई, हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक/एक वटा शव काठमाडौँ ल्याउने कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
कुवेतबाट संखुवासभाका मानबहादुर आले र नुवाकोटका सोनु तामाङको शव आउँदै छ । युएईबाट सिन्धुपाल्चोकका पेम्बा नोर्बु शेर्पा र साउदी अरबबाट भैरवबहादुर बस्नेतको शव ल्याईँदै छ ।
प्रकाशित समय १०:५१ बजे

















