गृहपृष्ठ सलह आगमनमा मौसमको भूमिका महत्वपूर्ण

सलह आगमनमा मौसमको भूमिका महत्वपूर्ण

अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सहल किराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह किरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो किरा हावाको दिशा पछ्याएर १०० देखि १३० किलोमिटरसम्म समूह बनाएर हिँड्ने गर्छ । नेपालमा विगत दुई- तीन दिनदेखि मनसुनको अरेबियन शाखाबाट बहने पश्चिमी दक्षिणी-पश्चिमी वायुको प्रभाव रहेको बताइएको छ । जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३० देखि ४० किलोमिटर प्रतिघण्टा छ । मौसमविद्का अनुसार सोमबार र मंगलबार पूर्वबाट हावाको बहाव पश्चिमतिर बढी हुनेछ । उक्त दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने औँल्याइएको छ ।

मंगलबार पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने छ । सो दिन जमिनको सतहभन्दा एक मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुनेछ । त्यसैले हावासँगै सलह किरा पनि पश्चिमतिर सर्ने अनुमान गरिएको छ ।

सलह किरा फट्यांग्रा प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने किरा हो । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाइदिन्छ । वरिष्ठ कृषि विज्ञ डा. केदार बूढाथोकीका अनुसार सलहको संख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । यसले खाद्य बाली मात्र नभई रुखबिरुवा, बुट्यान सबै सखाप पार्छ । त्यसैले यसलाई खतरनाक किरा प्रजातिका रुपमा व्याख्या गरिएको छ । सलह किराको जन्म मरुभूमिबाट भएको हो । यसलाई बढी सुख्खा वातावरण आवश्यक पर्छ ।

सलहको जोखिम नेपालमा कस्तो होला ?

सहल किरा बढी सुख्खा ठाउँमा हुने किरा हो । नेपालमा मनसुन सुरु भई निरन्तर वर्षा भइरहेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पानीले भिजेपछि ती किराको जिउँ गह्रुँगो हुनाले उड्न सक्दैन । नेपालको पहाडी भूभागसम्म आइपुग्ने सम्भावना कम रहेको बताइएको छ ।

यसले धेरै क्षति कसरी गर्छ ?

यो कीराले प्रायः धेरैजसो बोटबिरुवा तथा वनस्पति खान्छ । प्रत्येक किराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पुर्‍याउँछ । यो किरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी नै हुन्छ । यसले बिरुवाको पात, फल, फूल, बोक्रा सबै नष्ट गरी क्षति पुर्‍याउँछ ।

प्रकाशित समय १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु