गृहपृष्ठ बैतडीको पञ्चेश्वरमा बीओपी स्थापना

बैतडीको पञ्चेश्वरमा बीओपी स्थापना

बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना गरिएको छ । उक्त बीओपी पञ्चेश्वर गाउँपालिका- १ रोलघाटमा स्थापना भएको हो ।

रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै बीओपीमा रुपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र डीएसपी अमित सिंहले जानकारी दिए । उक्त बीओपीको औपचारिक उद्घाटन सुदूरपश्चिम डीआइजी हरि शंकर बुढाथोकीले गरेका हुन् ।

उनले भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी संयुक्त गस्ती र सीमा सुरक्षा निगरानी गर्ने बताए । बीओपीमा इन्स्पेक्टरको नेतृत्वमा ३५ जनाको टोली रहने जनाइएको छ । बीओपी स्थापनाका लागि पञ्चेश्वर गाउँपालिकाले १५ रोपनी जग्गा उपलब्ध गराएको हो ।

बैतडीको ६१ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ । हाल सीमामा देशभरी १२९ बीओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा बीओपी संख्या पाँच सय पुर्‍याउने तयारी गरेको छ । नेपालतर्फको सीमा नाकामा भारतका ५३० सुरक्षा चौकी छन् । नेपाल सरकारले पनि त्यही अनुपातमा बीओपी थप्ने तयारी गरेको हो ।

प्रकाशित समय १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु