गृहपृष्ठ उपत्यकाका सबै अस्पतालमा पानी वितरण गर्दै नेपाल स्वयंसेवक संघ

उपत्यकाका सबै अस्पतालमा पानी वितरण गर्दै नेपाल स्वयंसेवक संघ

नेपाल स्वयंसेवक संघले उपत्यकाका सबै सरकारी अस्पतालमा पानी वितरण गर्ने भएको छ । संघले उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका सबै सरकारी अस्पतालका प्रत्येक शय्याका बिरामीलाई पानी वितरण गर्न लागेको हो ।

संघका अध्यक्ष सन्तोष निरौलाका अनुसार बुधबार वीर अस्पतालमा करिब साढे तीन सय केस र ट्रमा सेन्टरमा करिब डेढ सय केस पानी बाँडिएको छ । संघका सदस्य पेम्बाछिरी शेर्पाको संयोजकत्वमा पानी वितरण गरिएको हो । पानी वितरण गर्न मोहन गमाल, हरि ठकुरी, मञ्जु मिश्र, सीता सुवेदीलगायतका संघका सदस्य एवं मानव सेवा आश्रमका सदस्य गएका थिए ।

संघले वीर अस्पताल, ट्रमा सेन्टर, कान्ति, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र पाटन अस्पतालमा पानी वितरण गर्ने जनाएको छ । पानी वितरणका लागि कपन गुम्बाले सहयोग गरेको छ ।

संघका अध्यक्ष निरौलाले लकडाउन सुरू भएदेखि नै चरालाई चारो र कुकुरलाई खाना खुवाउन थालेका थिए । चरा र कुकुरलाई खाना खुवाउँदै हिँड्दा भोका मानिस भेटेपछि उनले मानव सेवा आश्रमसँगको समन्वयमा मानिसलाई खाना खुवाएका थिए ।

अढाइ महिनाको अवधिमा उनीहरूले दैनिक एक हजारभन्दा बढीलाई खाना खुवाएका थिए । लकडाउनको ७५ दिनसम्ममा एक लाखभन्दा बढीलाई खाना खुवाएको अध्यक्ष निरौलाले जानकारी दिए ।

प्रकाशित समय २०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु