गृहपृष्ठ कर्णालीमा पहिरो : जाजरकोट र रुकुममा ९ जनाको मृत्यु, ७ बेपत्ता
कर्णालीमा पहिरो : जाजरकोट र रुकुममा ९ जनाको मृत्यु, ७ बेपत्ता
जाजरकोटको बारेकाटमा पहिरोमा बेपत्ताको खोजी गदै प्रहरी । ( फाइल तस्बिर)
जाजरकोट र रुकुममा गरी बिहीबार राति पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ । जाजरकोटको बारेकोट गाउँपालिकामा पहिरोले घर पुरिँदा सात जना र रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा २ जनाको मृत्यु भएको छ । त्यस्तै जाजरकोटमा भने सात जना बेपत्ता छन ।
जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुु सहनीका अनुसार बारेकोट गाउँपालिका– ४ को सार्की गाउँमा पहिरोले दुई घर पुरेको हो । कलुु सार्की र गोपाल सार्कीको घर पुरिँदा १२ जना पुरिएका थिए । जसमध्ये शुक्रबार बेलुकीसम्म सात जनाको शव फेला परेको छ । बेपत्ताको खोजी भइरहेको सहायक प्रजिअ सहनी जानकारी दिए ।
मृत फेला परेकामध्ये पाँच जनाको सनाखत भएको छ । पहिरोमा परेर एकै घरका बाबुछोरा ५३ वर्षीय गोपाल सार्की र ११ वर्षीय अर्जुन सार्कीको मृत्यु भएको छ । त्यस्तै १८ वर्षीय विरेन्द्र सार्की, २० वर्षीय डिल्ली सार्की र १७ वर्षीय तिख्री सार्कीको मृत्यु भएको हो । अन्य बेपत्ता पाँच जनाको भने परिचय नखुलेको उनले बताए ।
यस्तै बारेकोट गाउँपालिका– ६ को धुम भन्ने गाउँमा एक घर पुरिँदा दुई जना बेपत्ता छन् । एक जना घाइते भएका छन् । शिवदेव चलाउने र प्रचण्ड चलाउने पहिरोमा बेपत्ता भएको सहायक प्रजिअ सहनीले जानकारी दिए । रामचन्द्र चलाउने घाइते भएका हुन् ।
बिहीबार रातिकै पहिरोमा परेर रुकुमपश्चिममा दुुई जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा एकै घरका आमाछोरा हुन् । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमका अनुसार आठबिसकोट नगरपालिका– ३ का २८ वर्षीया सीता दमाई र उनका छोरा ६ वर्षीय हाविलको मृत्यु भएको हो ।
प्रकाशित समय १९:४९ बजे

















