गृहपृष्ठ कर्णाली प्रदेशसभा : संसदीय समितिको नेतृत्वमा ‘भागवण्डा’को तयारी
कर्णाली प्रदेशसभा : संसदीय समितिको नेतृत्वमा ‘भागवण्डा’को तयारी
कर्णाली प्रदेशसभाका संसदीय समितिहरुमा अध्यक्षका लागि दलहरूले भागवण्डा गर्ने तयारी गरेका छन् । सत्तापक्ष र प्रतिपक्ष दुवैले निर्वाचन प्रणालीमा जान नपर्नेगरी समितिका अध्यक्षहरुको टुंगो लगाउने तयारी गरेका हुन् ।
लामो समयदेखि जेष्ठताको आधारमा संसदीय समितिको अध्यक्षको कार्यभार सम्हाल्दै आएका अध्यक्षहरुको निर्वाचन असार २८ गते दिउँसो १ बजेका लागि तोकिएको छ । कुनै पनि हालतमा ह्वीप जारी गरेर भए पनि निर्वाचनमा जान नपर्नेगरी समितिको नेतृत्व टुंग्याउने तयारी गरेको नेपाल कम्न्युष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । उनका अनुसार सत्तापक्षलाई भाग पर्ने तीनवटा समितिको नेतृत्व सर्वसम्मतिले चयन गर्ने तयारी भएको हो । ‘निर्वाचनमा जाने वातावरण कुनै पनि हालतमा आउन दिइने छैन ।
सहमति गरेरै समावेशी तरिकाले नेतृत्वको चयन हुनेछ,’ उनले भने । क्षेत्र, लिंगलाई समेत आधार मानेर सर्वसम्मतिबाट समितिको नेतृत्व चयन गरिने उनले बताए । शाहले पूर्वमाओवादीलाई एउटा र पूर्वएमालेलाई दुईवटा समितिको अध्यक्षमा चयन गर्ने तयारी भएको जानकारी दिए । सकेसम्म पूर्व एमालेका दुईवटै धारलाई समेटेर नेतृत्वको चयन गरिने उनले प्रष्ट पारे ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जिवनबहादुर शाहीले समितिको अध्यक्ष पदमा पुरानै व्यक्ति निरन्तर गर्ने वा नयाँ चयन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । उनले हालसम्म प्रतिपक्षले लेखासमितिको नेतृत्व सम्हाल्ने परम्परा भएकाले सरकारलाई सही दिशामा हिँडाउन पनि बलियो नेतृत्वको तयारी गरेको बताए ।
कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ अनुसार समितिको अध्यक्ष पदको निर्वाचनको तयारी हुन लागेको हो । कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ को उपनियम ३ सँग सम्बन्धित अनुसूची ४ बमोजिम ढाँचामा एकजना प्रस्तावक र एकजना समर्थक राखी समितिको अध्यक्ष पदको उम्मेदवारको मनोनयन पत्र र मन्जुरीको निस्सा शुक्रबार साँझ ५ बजेसम्म प्रदेशसभा सचिवसमक्ष बुझाई सक्नुपर्ने सूचना जारी गरिएको थियो ।
हाल जेष्ठताको आधारमा अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्ष नेकपाका सांसद अम्मरबहादरु थापा, विधायन तथा प्रदेश मामिला समिति अध्यक्ष नेकपाका सांसद पदमबहादुर रोकाय, सामाजिक विकास समिति अध्यक्ष नेकपाका सांसद राजु नेपाली र सार्वजनिक लेखा समितिको अध्यक्ष नेपाली कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले सम्हाल्दै आएका छन् ।
प्रकाशित समय २१:१० बजे

















