गृहपृष्ठ पारदर्शिता र जवाफदेहिता सुनिश्चित हुने गरी काम गरौं : अर्थमन्त्री

पारदर्शिता र जवाफदेहिता सुनिश्चित हुने गरी काम गरौं : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले अन्य नियमनकारी निकायसँगको समन्वयमा नेपालमा लगानी र व्यवसायीको पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित हुने गरी काम गर्नुपर्ने बताएका छन् । आइक्यानको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ कार्यक्रममा मन्त्री खतिवडाले सदस्यतामा आधारित संगठन संरचना भएको नियमनकारी निकायलाई थप व्यवस्थित र पारदर्शी बनाउन कानुन मस्यौदाको प्रक्रियामा अघि बढ्न आग्रह गरे ।

खतिवडाले निस्पक्ष छानबिन गर्ने, दोहोरो भूमिका नभइ काम गर्ने सक्ने वातावरण निर्माण गर्ने र लेखाका सिद्धान्तविपरीत काम गर्नेलाई कारबाही गर्ने गरी आइक्यान अघि बढ्नुपर्ने सुझाव दिए । ‘सिद्धान्त विपरीत काम गर्नेमाथि कारबाही गर्ने बेलामा दण्डहीनताको अवस्था आउनु हुँदैन,’ उनले भने । नियमनकारी निकायले इमानदारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

‘विश्वसनीय लेखाप्रणाली बनाउन आइक्यानको भूमिका रहन्छ । नियमानकारी निकायमा बस्नेले स्वार्थ नबाझिने गरी काम गर्नुपर्छ,’ उनले भने । खतिवडाले जनशक्ति विकासमा पनि आइक्यानको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले नेपाल सरकार र महालेखापरीक्षकको कार्यालयसँग अत्यन्त राम्रो सम्बन्ध राखेर अघि बढ्न आइक्यानलाई सुझाव दिए । अबको समयमा धेरै काम भर्चुअल र अनलाइन प्रणालीबाट हुने भएकाले त्यसतर्फ सचेत हुन उनले सुझाव दिए । आइक्यानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले आफ्नो नेतृत्वको कार्यकालमा सुधारका धेरै काम अघि बढेको जानकारी दिए । उनले आफ्नो प्रत्येक बैठकमा संस्था सुधारका लागि धेरै प्रयास र पहल भएको उल्लेख गर्नुभयो। उहाँले आइक्यानको नियमनकारी भूमिका अझै बलियो बनाउँदै लगिएको बताए ।

प्रकाशित समय १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु