गृहपृष्ठ चिनियाँ जहाजले निगमलाई वार्षिक ३८ करोड नोक्सानी, व्यावसायिक उडान नगर्ने

चिनियाँ जहाजले निगमलाई वार्षिक ३८ करोड नोक्सानी, व्यावसायिक उडान नगर्ने

चिनियाँ जहाजबाट व्यावसायिक लाभ लिन नसकेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी साउन १५ देखि व्यावसायिक उडान नगर्ने भएको छ । आन्तरिक उडानका लागि चीनबाट ल्याइएका छ वटा जहाजबाट हालसम्म कुनै मुनाफा आर्जन गर्न नसकेको भन्दै निगमले चिनियाँ जहाज विस्थापन गरी नयाँ जहाज खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

निगमलाई चीन सरकारको सहयोग प्राप्त भएका दुई (एमए ६० र वाई १२ ई) तथा सहुलियतपूर्ण कर्जाअन्तर्गत नेपाल सरकारले खरिद गरी निगमलाई उपलब्ध गराएका (चार एमए–६० र तीन वाई–१२) जहाज गरी छ वटा जहाज निगमसँग रहेका छन् । चिनियाँ जहाजको बिमा रकम अन्य जहाजको भन्दा करिब ३५ प्रतिशतले बढिरहेको, जहाज चलाउने पाइलट उपलब्ध नहुने भएकाले आफैँ उत्पादन गर्नुपर्ने हुँदा हाल सञ्चालनमा रहेका एयरबस ३२० को भन्दा महँगो पर्ने भएपछि निगमले चिनियाँ जहाज नचलाउने निर्णय गरेको हो ।

यी जहाजका स्पेयर पार्टससमेत समान क्षमताका अन्य जहाजभन्दा करिब ७५ महँगो रहेको, अर्डर गरेको दुई महिनमा मात्रै मर्मत हुने बाध्यताले गर्दा पनि जहाज नचलाउने निर्णय लिइएको निगमका एक सञ्चालक समिति सदस्यले जानकारी दिए । स्टल रुटमा प्रस्तावित जहाजमा २५ प्रतिशतदेखि ६७ प्रतिशत सम्म पेलोड रेष्ट्रिक्सन रहेको, जहाजका पाइलटको खर्च समान जहाजको तुलनामा चार गुणा बढी हुन आएकाले निगमले वित्तीय भार बेहोर्दै आएको जनाएको छ । एमए- ६० जहाजको सिमुलेटर तालिम खर्च अन्य जहाजको भन्दा ७८ प्रतिशत बढी रहेको, इन्धन खर्च अन्य जहाजको भन्दा दोब्बर भएकाले निगमलाई व्यावसायिक लाभभन्दा पनि आर्थिक बोझ थुप्रिएको निगमले उल्लेख गरेको छ ।

वार्षिक ३८ करोड नोक्सानी

निगमका अनुसार आर्थिक रुपमा छ वटा जहाजबाट आव २०७१/७२ देखि आव २०७५/७६ सम्म पाँच आर्थिक वर्षमा रु एक अर्ब ९० करोड नोक्सान भएको छ । यस हिसाबले यी जहाजबाट प्रतिवर्ष ३८ करोड नोक्सानी भएको निगमले जनाएको छ । महालेखा परीक्षकको प्रतिवेदन २०७४/७५ मा दुई वटा आर्थिक वर्षमा मात्रै ९१ करोड ४५ लाख ६५ हजार खुद नोक्सानी बेहोर्नु परेकाले मुनाफामा सञ्चालन गर्ने ठोस कार्ययोजना बनाउनुपर्ने उल्लेख गरेको थियो ।

उल्लेखित सुझावलाई समेत ध्यानमा राख्दै निगमले यी जहाजको मुनाफामा सञ्चालन गर्न उपयुक्त ढाँचा बनाउन मात्रै आठ वटा उपसमिति गठन गरिएको, सञ्चालक समितिका २० वटा बैठकमा यस सम्बन्धमा गहन छलफल भएको थियो । यी तमाम प्रयासका बाबजुद पनि चिनियाँ जहाजबाट मुनाफा आर्जन गर्न नसकिने निष्कर्ष निकालिएको निगमले जनाएको छ ।

निगमले चिनियाँ जहाज सञ्चालनको प्रयास मात्र गर्दा बीमा शुल्क, चालक दल तथा जहाजको मर्मतसम्भारका लागि मात्रै वार्षिक रु ५० करोडभन्दा बढी घाटा बेहोर्नुपरेको छ । निगमसँग भएका ती जहाजमध्ये दुई एमए ६० मध्ये एक ग्राउण्डेड छ भने चार वाई १२ जहाजमध्ये तीन लामो समयदेखि ग्राउण्डेड र एक जहाज पूर्णरुपमा क्षति भएको छ ।

निगमले तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई चिनियाँ जहाज सञ्चालन गर्न नसकिने औपचारिक रुपमा जानकारी गराइसकेको छ । निगमले चिनियाँ जहाज विस्थापन गर्दा अवरुद्ध हुने आन्तरिक उडानलाई सञ्चालन गर्न एकीकृत आन्तरिक व्यावसायिक योजनाको प्रतिवेदन तयार गरी लागू गर्ने निर्णय गरेको छ ।

१४५ कर्मचारीको नवीकरण भएन

निगमले करार सेवाका १४५ कर्मचारीको नवीकरण नगर्ने निर्णय गरेको छ । असार मसान्तमा करार अवधि समाप्त भएका २२५ कर्मचारीमध्ये तत्काल आवश्यक रहेका ८० जनाको मात्रै नवीकरण गरिएको छ । निगमसँग सबै विभाग गरी कूल ४७८ करार सेवाका कर्मचारी छन् ।

निगमले कोभिड–१९ कारण निगमको मूल आम्दानीको स्रोतका रुपमा रहेको ग्राउण्ड ह्याण्डलिङ सेवाबाट हुने आय करिब ९० प्रतिशतले घटेको र आन्तरिक उडानसमेत बन्द गर्नुपरेको अवस्थामा निगमलाई जोगाइराख्न खर्च कटौतीमा हरसम्भव प्रयास गर्नुपरेको उल्लेख गरेको छ । निगमसँग अन्तरराष्ट्रिय उडानमा दुई वाइडबडी ए ३३० र न्यारोबडी ए ३२० जहाज छन् । निगमले भारतका तीन सहित नौ गन्तब्यमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ । (रासस)

प्रकाशित समय १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु