गृहपृष्ठ कसरी भयो मेलम्चीमा दुर्घटना, दोष कसको ?
कसरी भयो मेलम्चीमा दुर्घटना, दोष कसको ?
फाइल तस्बिर ।
लामो प्रतिक्षापछि राजधानीवासीको धारामा मेलम्चीको पानी आउनै लागेको बेला केही दिन पहिले एउटा दुखद दुर्घटना भयो । जसले गर्दा मेलम्ची आयोजना र खानेपानी मन्त्रालयप्रति धेरैले आशंका, आरोप र प्रश्नहरु तेर्स्याए । यदि त्यो दुर्घटना नभएको भए अहिलेसम्म मेलम्चीको पानी काठमाडौ आउने प्रक्रिया धेरैअघि बढिसकेको हुने थियो ।
मेलम्चीको पानी परीक्षणको क्रममा भएको दुर्घटनामा दुई व्यक्तिको मृत्यु भयो र केही घाइते पनि भए । तर यो घट्ना हुनेबित्तिकै यसलाई राजनीतिकरण गर्ने प्रयाससमेत गरियो । आयोजना निर्माणको क्रममा पूरै आयोजनाको कामको गुणस्तरमा समेत गम्भीर प्रश्न उठाइयो । र, यसको सम्पूर्ण दोषी र जिम्मेवार खानेपानीमन्त्री बिना मगर भएको भनेर केही मिडियामा समाचारहरु पनि आए । बास्तवमा सो घटना हुनुको पछाडिको कारण के थियो ? मेलम्चीजस्ता सुरुङ मार्गका आयोजनामा यस्ताखाले दुर्घटना घट्नु स्वाभाविकै हो ? या यो हुनै नसक्ने घटना भएको हो ? कतिपयले यो खानेपानीमन्त्री मगरले हतार-हतारमा आफूले जस लिन पानी परिक्षणको कार्य चाँडो चाँडो गराएको आरोप पनि लगाए । काम ढिला हुँदा किन ढिलो भयो भनेर मन्त्रीमाथि बारम्बार प्रश्न उठाउनु र अर्कोतिर जस लिन हतार-हतारमा काम सम्पन्न गर्न लगाएको भन्ने आरोपहरु पनि लगाईनु आफैंमा विरोधाभाष छ ।
खानेपानीको अभावमा वर्षौं बिताएका र वर्षौंदेखि मेलम्चीतिर आफ्नो आँखा सोझ्याएर बसिरहेका राजधानीवासीका लागि मेलम्चीको पानी ल्याउन हतार गर्नु या सम्बन्धित पक्षलाई प्रेसर दिनु के खानीपानी मन्त्रीको अपराध हो ? या त्यसो गर्नु स्वभाविक हो ? सो दुखद दुर्घटनाका कारण अव मेलम्चीको पानी पाउन राजधानीवासीले अरु कति समय प्रतिक्षा गर्नुपर्ने हो ? वास्तवमा परिक्षण गरिनु भनेको कमीकमजोरी पत्ता लगाउनका लागि नै हो । ताकि कहीँ कतै कमजोरी या प्राविधिक त्रुटि पाइयो भने त्यसलाई समयमै समाधान गर्न सकियोस् ।
कसरी भयो दुर्घटना ?
वास्तवमा दुर्घटना जहिले पनि आकस्मिक हुने गर्छ, नियोजितबाहेक । अहिलेसम्म प्राप्त सबै तथ्य अध्ययन गर्दा मेलम्चीमा भएको दुर्घटना पनि आकस्मिक नै हो । मेलम्चीको सुरुङ परीक्षण गर्ने क्रममा असार ३० गते अचानक आयोजनाको मुहानस्थल हेलम्बु गाउँपालिका वडा १ अम्बाथानस्थित १७ नम्बर गेट खुल्दा ईन्जिनियर सतीशकुमार गोईतसहित अन्य चार जनालाई पानीले बगाएको थियो । जसमध्ये ईन्जिनियर गोइतको दुर्घटनामा ज्यान गयो । मेलम्चीको पानी चाँडै उपत्यकावासीको धारामा पुर्याउने पवित्र उद्देश्य राखेर गरिएको काममा अचानक धक्का लाग्न पुग्यो ।

पानीको भेलले बगाएका कारण सवारी चालक राधाकृष्ण थापामगर अझै बेपत्ता भएका छन् भने घटनामा घाईते भएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको उपचार भईरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सवारी चालक थापामगरको खोजी कार्य तीव्र पारिएता पनि हालसम्म कुनै सूचना प्राप्त हुन नसकेको अवस्था छ ।
दुर्घटना हुनु र त्यसमा कसैको ज्यान जानु ज्यादै नै दुखद कुरा हो । दुर्घटनाको खास कारण के थियो ? सम्बन्धित मन्त्रालयले यसको छानविन गरिरहेको छ । र सायद केही दिनपछि नै त्यसबारेमा सत्यतथ्य बाहिर आउने छ । विज्ञसहितको टिमले छानविन गरिरहेकाले त्यस सम्बन्धमा धेरै टिप्पणी गर्नुको अर्थ छैन । यो घटनाले आयोजनामा केही ढिलाई अवश्य भएको छ तर पनि आयोजनाले आफ्नो काम सुचारु नै राखेको छ । दुर्घटनामा ज्यान गुमाएका इन्जिनियर गोइतको परिवारमा परेको पीडा र क्षतिलाई हामीले त महसुस मात्रै गर्न सक्छौं । तर त्यो अपुरणीय क्षतिले परिवारलाई बहुतै ठूलो पीडामा पारेको छ । यस्तो अवस्थामा उनीहरुको परिवारको पीडामा सम्बन्धित पक्षले मल्हम लगाउने प्रयास गर्न जरुरी छ । र, उनको परिवारलाई आवश्यक क्षतिपूर्ति या अरु के गर्न सकिन्छ त्यो गर्नैपर्छ । केही दिनअघि खानेपानीमन्त्री मगरले मृतकका परिवारलाई क्षतिपूर्ति र बिमाको रकम उपलब्ध गराउन आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिइसकेकी छन् ।
यस्तो छ प्राविधिक पाटो
विज्ञहरुका अनुसार राष्ट्रिय गौरवको मेलम्ची आयोजनामा घटेको दुखद घटनालाई प्राविधिक पाटोबाट पनि हेर्नुपर्छ । हाल आयोजना निर्माणको जिम्मेवारी लिएको सिनो हाइड्रोले सुरुङ परीक्षणको काम अघि बढाएको अवस्थामा त्यो दुर्घटना भएको हो । जुन ठाउँमा दुर्घटना भयो, त्यसको निर्माण जिम्मेवारी सब-कन्ट्रयाक्टरको रुपमा भारतीय कम्पनी प्रेसिजन इन्प्राटेकले लिएको थियो । आयोजनामा भएको कामको परीक्षणको अवस्थामा दुर्घटना भयो । परीक्षण भनेकै काम कस्तो भयो, कमजोरी केही छ कि भनेर पत्ता लगाउनका लागि गरिने कार्य हो ।
यहाँ त्यही कमजोरी पत्ता लगाउने क्रममा दुर्घटना भयो । धेरैले दुर्घटना बाँध फुटेर, नट बोल्ट फुस्केर भएकोजस्ता अनेक खाले प्रचार गरिरहेका छन् । तर, यसका प्राविधिक पाटाहरुलाई केलाएर दुर्घटना यसरी भएको हो भनेर स्पष्ट पार्नेभन्दा पनि विभिन्न अनावश्यक विषय जोडेर प्रचार गरिएको छ ।
दुर्घटनाबारे विज्ञ प्राविधिक र जानकारहरुबाट मात्र आधिकारिक धारणा आउन सक्छ र अहिले भएका गल्ती कमजोरीहरु सुधारेर अघि बढनुको विकल्प छैन । यसको लागि सिनो हाइड्रो, प्रेसिजन, कन्सल्ट्यान्टको रुपमा रहेको स्पेनिस परामर्शदाता ईप्टिसाले थप अध्ययन र जोखिम न्यूनीकरणका लागि अध्ययन गरिरहेको छ । तर, आकस्मिक दुर्घटनालाई मन्त्री र मन्त्रालयसँग मात्रै पूर्वाग्रही ढंगले जोडेर आयोजनालाई थप ढिलाईतर्फ धकेल्न खोजिएको छ ।
दुर्घटनालाई न्युनीकरण गर्दै मेलम्चीको काम आज सकिएको अवस्थामा पुगेको छ । मेलम्चीको काम सकिएर पानी परीक्षण गर्ने क्रममा जुन किसिमको दुर्घटना भयो त्यो घटनाले मन्त्रालय र आयोजना सबैलाई स्तब्ध बनाएको छ । दक्षिण एसियाकै सबभन्दा ठूलो टनेलका रुपमा मेलम्चीको टनेललाई लिने गरिएको छ । यति ठूलो टनेल निर्माणको काम सम्पन्न भएर आज काठमाडौं उपत्यकावासीको घर-घरमा पानी आउने स्थितिमा अचानक भएको यस किसिमको दुर्घटनालाई मन्त्रालयले निकै गम्भीर रुपमा लिएको छ । आगामी दिनमा यस्तो दुर्घटना नहोस् भनेर मन्त्री मगरले आयोजनाका ईन्जिनियर, प्राविधिक लगायतका कर्मचारीहरुलाई निर्देशन दिइसकेकी छन् ।
सुरुङ इन्जिनियरहरुका अनुसार सुरुङमा पानीको बहावबाट हुने दुर्घटना, पहाड फुटाउँदा , टनेलभित्रको पानी हटाउँदा , ढुंगा खसेर हुने , प्राविधिक गडबडीको कारण हुने धेरै प्रकारका दुर्घटनाहरु हुन सक्छन् । मेलम्चीको पछिल्लो दुर्घटना भने प्राविधिक गडबडीको क्रममा भएको दुर्घटना मान्नुपर्ने विज्ञहरुको मत छ । यसो भन्दैमा दुर्घटना हुनु सही भन्ने कुनै पनि दृष्टिकोणसँग सहमत हुन सकिन्न । तर, यो दुर्घटनालाई अनेक राजनीतिक र विविध रंग पोतेर जसरी प्रचार गरिएको छ, त्यो चाहिँ पक्कै पनि न्यायोचित नहोला ।
प्रकाशित समय १६:४४ बजे

















