गृहपृष्ठ नवलपरासीमा राष्ट्रिय परिचयपत्र वितरण

नवलपरासीमा राष्ट्रिय परिचयपत्र वितरण

rastriya parichaya patra- newskarobar

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बुधबार जिल्ला प्रशासन कार्यालयका कर्मचारी सुनिलदत्त कंहारलाई परिचयपत्र वितरण गरेर उक्त कार्य शुभारम्भ गरे । नागरिकको सम्पूर्ण विवरण उपकरण र कम्प्युटरबाट प्रमाणित भएपछि पहिलो सेवाग्राहीको रुपमा रामग्राम–७ निवासी कंहारलाई परिचयपत्र प्रदान गरिएको थियो । गत वैशाखदेखि नै वितरण कार्य सुरु गर्ने लक्ष्य रहे पनि कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण रोकिएको थियो ।

हाललाई सदरमुकाम परासीबाटै परिचयपत्र वितरण गरिने प्रजिअ पाठकले जानकारी दिए । सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको थियो । आगामी दुई वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने लक्ष्यअनुसार ७७ वटै जिल्लाबाट परिचयपत्र सुरु भएको जनाइएको छ । उनले भने, ‘हस्तलिखित हस्ताक्षर, दश औँला, औँठा छाप, रेटिनालगायत व्यक्तिको वैयक्तिक र जैविक सूचनालाई आधारिकरुपमा संकलन गरी प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने गरी परिचय नम्बर प्रदान गरिन्छ, यो आधुनिक प्रविधियुक्त परिचयपत्रले नागरिकलाई हरेक क्षेत्रमा सहज हुनेछ ।’

परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा बसाइँसराइँको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रमा पति÷पत्नीको नाम नखुलेमा विवाददर्ता प्रमाणपत्र, नागरिकतामा अंग्रेजीमा नाम नखुलेको भए अंग्रेजीमा नाम खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ । (रासस)

प्रकाशित समय ०८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु