गृहपृष्ठ स्यवंसेवक संघको अग्रसरतामा एक सयलाई खाना तथा पानी वितरण

स्यवंसेवक संघको अग्रसरतामा एक सयलाई खाना तथा पानी वितरण

नोवेल कोरोनाभाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेदेखि नै कुकुर, चराचुरूंगी र भोका मानिसहरूलाई खाना खुवाउँदै हिँडेको नेपाल स्वयंसेवक संघले शनिबार पनि काठमाडौंको वालाजु क्षेत्रका सय जनाभन्दा बढीलाई खाना खुवाएको छ । संघको अग्रसरतामा वालाजु संरक्षण समितिका अध्यक्ष साञ्जे गुरुङ, सल्लाहकार आरबी ठकुरी, नेपाल स्वयंसेवक संघका उपाध्यक्ष, हरि ठकुरी, जागृति युवा क्लबका अध्यक्ष सन्तोष गुरुङलगायसको समूहले असहाय  तथा विपन्नलाई खाना खुवाएको हो ।

संघका अन्य स्वयंसेवक सहितको टोलीले वालाजु र सोह्र खुट्टेको बीचमा विष्णुपति पुलनजिकै रहेको विष्णुमति महादेव मन्दिर सरसफाइ पनि गरेको संघका अध्यक्ष सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार सय जनाभन्दा बढीलाई खाना र पानी वितरण गरिएको छ ।

संघको अग्रसरतामा लकडाउनयता एक लाखभन्दा धेरै मानिसलाई खाना खुवाइएको थियो । त्यस्तै पशुपतिनाथ र भक्तपुर क्षेत्रका धेरै मन्दिरका चराचुरुंगी र सडकमा भेटिएका कुकुरलाई पनि उनीहरूले आहारा तथा दाना दिएका थिए ।

यसअघि संघले उपत्यकाका सरकारी अस्पतालमा १७ सय केस पानी वितरण गरेको थियो । संघले उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका सबै सरकारी अस्पतालका प्रत्येक शय्याका बिरामीलाई तीन दिन लगाएर पानी वितरण गरेको हो ।

संघका अध्यक्ष निरौलाका अनुसार वीर अस्पताल र ट्रमा सेन्टरमा पाँच सय केस, भक्तपुरका मानव अंक प्रत्यारोपण केन्द्र, भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा तीन सय केस, त्रिवि शिक्षण अस्पतालमा ६ सय केस, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा एक सय केस र ललितपुरको पाटन अस्पतालमा २५० केस पानी वितरण गरिएको थियो ।

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु