गृहपृष्ठ चाडपर्व मनाउनेसम्बन्धी मापदण्ड पारित, ६ लाखको कोरोना जाँच गरिने
चाडपर्व मनाउनेसम्बन्धी मापदण्ड पारित, ६ लाखको कोरोना जाँच गरिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बढीभन्दा व्यक्तिको कोरोना जाँच गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयद्वारा आज विभिन्न सञ्चारगृहका सम्पादकहरुसँग आयोजित अन्तर्क्रियामा मन्त्री ढकालले घटीमा ६ लाखसम्मको पीसीआर जाँच गरिने जानकारी दिए ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनसंख्याको जाँच गरिने बताएका थिए । मन्त्री ढकालले आवश्यकताअनुसार परीक्षण गर्दै लगिने बताएका छन् । ‘सीमाबाट हिँडेर आउनेलाई १४ दिन क्वारेन्टिनमा राखिने छ र पीसीआर टेष्ट गरिने छ । हवाइजहाजबाट आउनेलाई पाँच दिन राखिने छ,’ उनले भने । मन्त्री ढकालले बन्दाबन्दीबाट मुक्त भएकाहरु असावधान हुँदा जोखिम बढेको बताउँदै अब पहिले जस्तो सोलोडोलो बन्दाबन्दी नहुने स्पष्ट गरे ।
‘बन्दाबन्दीको मोडालिटीबारे सोचिने छ,’ उनले भने । उनका अनुसार चाडपर्व मनाउने प्रोटोकलबारे मन्त्रिपरिषदबाट पारित भइसकेको छ । तराईका जिल्लामा कडाइका साथ व्यवस्थापन गरिने छ । आगामी भदौ १ गतेदेखि खुल्ने भनिएका हवाइजहाज, लामो दूरीका सवारी साधन र विद्यालयबारे पनि सोचिने बताउँदै उनले भारतको अवस्था हेरी हाम्रो अवस्था निर्धारण हुने संकेत गरे ।
उनले मन्त्रालयमा भएको भनिएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराए । मन्त्री ढकालका अनुसार कोरोनाबाट मृत्यु हुने प्रतिशत नेपालमा शून्य दशमलव २७ मात्र छ जुन विश्वका अन्य मुलुकका दरभन्दा कम छ । विश्व स्वास्थ्य संगठन र केही मुलुकले नेपालमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापन राम्रो बताएका छन् ।
साप्ताहिक खर्च विवरण दिइने
सो अवसरमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना नियन्त्रण एवं रोकथाममा भएका खर्चको साप्ताहिक विवरण दिइने जानकारी दिए । उनले जोखिम नियन्त्रणका लागि समन्वय, सञ्चार र समुदायको सहभागितामा जोड दिइने बताउँदै सवारी साधनमा जोरबिजोर लागु गर्ने, हिँडडुलमा नियन्त्रण गर्ने, मानिस प्रवेश गर्ने २० नाकालाई १० मा झार्ने र विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा राख्नेबारे सोचाइ भइरहेको जानकारी दिए ।
मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले भेन्टिलेटर मात्र नभई अक्सिजन आपूर्ति प्रशस्त हुनुपर्ने बताउँदै कसैमा ५७ दिनपछि पीसीआर जाँच गर्दा पुनः कोरोना पोजेटिभ भएको जानकारी दिए । उनले समुदायस्तरमा महामारी नफैलिए पनि वीरगञ्जमा लोकल ट्रान्समिसन(क्लष्टर अफ केसेस) पाइएको भने स्वीकारे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मिडियालाई रचनात्मक सुझाव एवं पृष्ठपोषणका लागि आग्रह गरे ।
प्रकाशित समय १९:१४ बजे

















