गृहपृष्ठ जनप्रतिनिधिले बिर्सिए ‘डुवानमुक्त बजार’को नारा, प्रदेश राजधानी जलमग्न

जनप्रतिनिधिले बिर्सिए ‘डुवानमुक्त बजार’को नारा, प्रदेश राजधानी जलमग्न

डुवान भएका क्षेत्रमा आवत-जावत गर्नसमेत समस्या

अव्यवस्थित बसोवास र खोला अतिक्रमणका कारण सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका तथा प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिकामा बर्सेनि डुवानको समस्या बढ्न थालेको छ ।

डुवानको समस्या विगतमा सामान्य मात्र हुने गरे पनि अहिले भने एक रातकै बर्षाले धनगढी क्षेत्र जलमग्न हुन थालेको छ । आइतबार रातिदेखि परेको पानीका कारण धनगढीका अधिकांश क्षेत्र डुवानमा परेका छन् । खोलानाला अतिक्रमण हटाएर डुबानमुक्त धनगढी बनाउन स्थानीय जनप्रतिनिधिहरुले पहिलो निर्णय गरे पनि त्यसको कार्यान्वयन नहुँदा अहिले धनगढी जलमग्न बनेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ को शिवनगर, वडा नम्बर २ को सन्तोषीटोल, ३ नम्बरको मित्रनगर र विशालनगर क्षेत्र डुवानबाट बढी प्रभावित छन् । त्यस क्षेत्रका अधिकांश सडकमा पानी जमेको छ । कतिपय स्थानीयवासीको घरभित्रै पानी पसेको छ । बस्ती विस्तार बढे पनि उचित व्यवस्थापन हुन नसक्दा डुवानको समस्या बढेको हो । डुवान भएका क्षेत्रमा आवत-जावतसमेत बन्द भएको छ ।

खोलानाला अतिक्रमण गरी बनाइएका संरचनाका कारण पनि नगर क्षेत्रमा डुबान बढेको स्थानीयहरु बताउँछन् । उनीहरुका अनुसार बजार क्षेत्रमा बर्सेनि डुवानको क्षेत्र बढिरहको हो । अव्यवस्थित बसोवास बढेको र बस्तीमा ढल निकास नहुँदा यस वर्ष पनि डुवान बढेको स्थानीय दीर्घ जोशीले बताए । खोलानाला अतिक्रमण हटाएर ढल निकासको व्यवस्थापन गर्नतर्फ जनप्रतिनिधिको ध्यान जानुपर्ने उनको माग छ ।

‘२०७२ सालको बाढीले पनि धनगढीमा यति डुवान भएको थिएन । विगतको तुलनामा बस्ती निकै बाक्लो भइसकेको छ । कुनै योजना विना धमाधम नयाँ बस्ती बसाल्न थालिएपछि डुवानको समस्या निम्तिएको हो,’ अर्का स्थानीय घनश्याम भट्टराईको भनाइ छ । नाला खोल्नेदेखि अतिक्रमण हटाएर व्यवस्थित बसोवास बनाउन सके यस्तो डुवान नहुने उनको तर्क छ ।

धनगढी उपमहानगरपालिकाले भने अतिक्रमण हटाएर व्यवस्थित बसोवास बनाउने गृहकार्य भइरहेको दावी गरेको छ । खोलानाला अतिक्रमण बढ्दै जाँदा पानी निकासको समस्या निम्तिएको र यसमा नागरिकहरु पनि जिम्मेवार रहेको उपमेयर सुशील मिश्र भट्टको भनाइ छ । सबै नागरिकले आ-आफ्नो घरको नाली सफा गरेमात्र पनि डुवान कम गर्न सकिने उनको तर्क छ । उपमहानगरपालिकाले खोलानाला अतिक्रमण हटाएर पानी निकासको व्यवस्था गर्न योजना अगाडि बढाएको उनले बताइन् ।

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु