गृहपृष्ठ तमानखोलाका पहिरो पीडितलाई गाउँपालिकाले घर बनाइदिने
तमानखोलाका पहिरो पीडितलाई गाउँपालिकाले घर बनाइदिने
सांकेतिक तस्बिर
बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले पहिराले घरबार गुमाएका पानबहादुर रसाइलीको घर बनाइदिने भएको छ । यही साउन १२ गते राति अविरल वर्षाका कारण तमानखोला २ खोलेसबाङमा गएको पहिराले भत्किएको रसाइलीको घर गाउँपालिकाले निर्माण गरिदिने भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।
पहिराका कारण रसाइलीको घर पुरिँदा उनकी श्रीमती हुमकुमारीको घाइते अवस्थामा उद्धार गरिएको थियो भने १३ वर्षीय छोरा खिमबहादुर र ११ वर्षीया छोरी रीताको मृत्यु भएको थियो । ‘पहिरोका कारण घर पुर्दा दुई सन्तान नै गुमाउनुपर्यो,’ अध्यक्ष बुढाले भने, ‘दुई परिवार गुमाएको पीडा त छँदैछ, घरसमेत नरहेकाले घर बनाइदिने निर्णय गरेका छौंँ ।’
पहिरो पीडित परिवारलाई गाउँपालिकाका तर्फबाट अध्यक्ष बुढा मगरले राहतस्वरुप एक लाख ५० हजार रुपैयाँ मंगलबार हस्तान्तरण गरे । उनले तत्काल राहतका लागि उक्त रकम प्रदान गरिएको र घर बनाउनका लागि गाउँपालिकाले थप दुई लाख ५० हजार रुपैयाँ प्रदान गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको उनको भनाइ छ । रसाइली परिवारलाई घरसमेत गुमाएपछि हातमुख जोर्न समस्या भएकाले लत्ताकपडा तथा खाद्य पदार्थ खरीद गर्नका लागि सहयोग गरिएको हो ।
अविरल वर्षासँगै आएको पहिराका कारणले घरमा आंशिक क्षति पुर्याएको फूलकुमारी रसाइलीको परिवारलाई पनि १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । पीडित परिवारको घरबास नै नभएकाले गाउँपालिकाले घर निर्माण गर्न दुई लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको र तत्कालै जग्गा व्यवस्थापन गरी घर निर्माण थालिने गाउँपालिका अध्यक्ष बुढाले बताए ।
प्रकाशित समय ०६:५७ बजे

















