गृहपृष्ठ महामारीमा साथ दिन निजी स्वास्थ्य संस्थालाई प्रदेश सरकारको आग्रह

महामारीमा साथ दिन निजी स्वास्थ्य संस्थालाई प्रदेश सरकारको आग्रह

pradesh2-province2-newskarobar

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश २ को भदौ २ गते सम्पन्न प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा निजी स्वास्थ्य संस्थाहरुलाई समेत साथ र सहयोग गर्न आग्रह गरेको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरु समेत रहने गरि समन्वय समिति गठन गरिएको छ ।

समितिले मेडिकल कलेज सहितका निजी स्वास्थ्य संस्थाहरुसँग कोरोना व्यवस्थापनको विषयमा पहिलो चरणमा छलफल गर्ने, मेडिकल कलेज तथा निजी अस्पतालहरुलाई संघीय सरकाले तोकेको दररेट उपलब्ध गराई कोभिड उपचारका लागि प्रयोग गर्ने निर्णय गरेको छ ।

मेडिकल कलेज तथा निजी अस्पतालहरुले कोभिड उपचारमा सहयोग नगरेको खण्डमा कारवाही तथा दर्ता खारेजको लागि संघिय सरकारमा लेखी पठाउने तथा कानून वमोजिम कारवाहीका लागि मुद्दा प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।

बैठकले प्रदेशमा समुदाय स्तरमै फैलिदै गएको कोरोना महामारी नियन्त्रणमा रहेका अप्ठ्यारा एवं सरकारले गर्नु पर्ने कार्यहरु बारे जिल्ला स्तरबाटै जानकारी लिन प्रदेशको ४ स्थानमा २÷२ जिल्ला समेटिने गरि बैठक गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले कोरोना महामारी नियन्त्रणमा देखिएको जनशक्ति अभावलाई करार सेवा मार्फत परिपूर्ति गर्न समेत सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले कोरोना महामारी नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने चिकित्सक, स्वाथ्यकर्मी एवं सुरक्षाकर्मीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने निर्णयसमेत गरिएको मुख्यमन्त्रिका स्वकिय सचिव दिपक यादवले बताए ।

प्रकाशित समय ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु