गृहपृष्ठ अपांग संघलाई मेटल फर नेपाल ब्यान्ड अन्डरसाइडको खाद्यान्न सहयोग

अपांग संघलाई मेटल फर नेपाल ब्यान्ड अन्डरसाइडको खाद्यान्न सहयोग

सांगितिक समूह मेटल फर नेपाल ब्यान्ड अन्डरसाइडले नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रलाई खाद्यान्न वितरण गरेको छ । विश्वव्यापी कोरोनाभाइरस (कोभिड‑१९) नियन्त्रण तथा रोकथामका लागि गरिएको पाँच महिना लामो लकडाउन र निषेधाज्ञाले समस्यामा परेका अपांगता भएका व्यक्तिहरूलाई खाद्यान्न वितरण गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृ रत्ना गुरुङको उपस्थितिमा सो संस्थाले सोमबार चामल, दाल, नुन, चिनी, बेसार, मसला, चला केराउ, राज्मा तरकारीलगायतका खाद्यान्न हस्तान्तरण गरेको छ । अपांग संघमा हाल ८५ जना अपांगता भएका व्यक्ति आश्रित छन् ।

खाद्यान्न हस्तान्तरण गर्दै नेतृ गुरुङले नेपाल अपांग संघमा सरकारले आवश्यक बजेट पठाउँदा पनि व्यवस्थापन समितिले उचित व्यवस्थापन गर्न नसकेको बताइन् । उनले भनिन्, ‘अशक्त, अपांगलाई पठाएको बजेट, सही सदुपयोग होस्, सरकारले नियमन गरोस्, व्यवस्थापन पक्षले आश्रित सबै अपांगता भएकाहरूलाई सुरक्षित र सहज रूपमा राखोस् ।’

यस्तै नेपाल अपांग संघकी गृह प्रमुख सूर्य गुरुङले कोरोना संकटको अवस्थामा राज्यले अशक्त, अपांगता भएका व्यक्तिहरूलाई विशेष चासो राख्नुपर्ने औँल्याइन् । उनले भनिन्, ‘नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा सरकारले उचित बजेट पठाए पनि व्यवस्थापन समितिको कमजोरीका कारण खाद्यान्न व्यवस्थापन सहज छैन, खाद्यान्न आहार जुटाउन असहज छ, दुई वर्षयता दाताकै भरमा छौँ ।’

यसअघि सो संस्थाले सुर्खेत, धनुषा, कैलाली, वीरगन्ज, मकवानपुरको चेपाङ बस्ती, सुर्खेतलगायतका ठाउँमा पनि राहत तथा खाद्यान्न वितरण गरिसकेको छ ।

प्रकाशित समय १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु