गृहपृष्ठ लिदीका पहिरो पीडितलाई एनआरएनए नेदरल्याण्ड्सद्वारा आर्थिक सहयोग
लिदीका पहिरो पीडितलाई एनआरएनए नेदरल्याण्ड्सद्वारा आर्थिक सहयोग
लिदी पहिरोपीडितलाई राहत वितरण।
गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एनसीसी नेदरल्याण्ड्सले संकलन गरिपठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर संघका आइसीसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरे ।
उपाध्यक्ष लामाले सोही वडाका वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्वअध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागी थिए ।
एनआरएनएले यो रकम पहिरो पीडितहरुको जिविकोपार्जनमा खर्च गरियोस् भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको उपाध्यक्ष लामाले बताए । संघले यसअघि पनि यही ठाउँमा पुगेर ५ लाख सहयोग गरेको बताउँदै उपाध्यक्ष लामाले सो सहयोग तत्काल रिलिज गरी पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गरे।
साथै उपाध्यक्ष लामाले एनआरएनए एनसीसी नेदरल्याण्ड्सको सराहनीय कार्यको प्रशंसा गर्दै वर्तमान कोभिड- १९ को विषम परिस्थितिमा पनि रकम संकलन गरि पठाएकोमा एनसीसी अध्यक्ष श्रीराम कँडेललगायत सम्पूर्ण कार्यसमिति तथा सहयोग गर्ने सबैमा धन्यवाद दिए ।
वडाका वडाध्यक्ष प्रताप लामाले नेदरल्याण्ड्सबाट सहयोग रकम संकलन गरि पठाउने सबैमा धन्यवाद दिँदै उपलब्ध रकम पीडितहरुको आवश्यकताअनुसार खर्च गर्ने बताए ।
जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पूर्ण रुपमा क्षति पुर्याउँदा १ सय ६७ भन्दा बढी मानिसहरु प्रभावित भएका छन् ।
सिन्धुपाल्चोकवासी सीता सापकोटाको पहलमा एनआरएनए एनसीसी नेदरल्याण्ड्सबाट संकलित रकम लिदी पठाइएको हो । त्यस्तै, एनआरएनएए नेदरल्याण्ड्सका अध्यक्ष श्रीराम कँडेलले नेपालको बाढीपहिरोका कारण अत्यधिक प्रभावित क्षेत्र अछाम र म्याग्दीमा पनि दुई/ दुई लाख रूपैयाँ राहत सहयोग पठाइसकेको बताए ।
प्रकाशित समय १३:१६ बजे

















