गृहपृष्ठ आजबाट लामो दुरीका सवारीसहित होटल तथा ट्राभल एजेन्सीहरु सञ्चालनमा

आजबाट लामो दुरीका सवारीसहित होटल तथा ट्राभल एजेन्सीहरु सञ्चालनमा

गाडीको सिटभन्दा आधा यात्रु राखेर ५० प्रतिशत थप भाडा लिन पाइने

लामो समयदेखि बन्द गरिएका सार्वजनिक यातायात, होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु सञ्चालनमा आएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बिहीबारदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय भएको जानकारी दिएसँगै आजबाट सञ्चालनमा आउने भएका हुन् ।

ग्राहकले भौतिक दूरी कायम गर्न सक्नेगरी होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्ने र यात्रुले पनि यात्रा अवधीभर स्वास्थ्य सामाग्री प्रयोग गरेर यात्रा गर्नुपर्ने भन्दै निर्देशनका साथ सवारी साधनहरू सञ्चालन गर्न लागिएको हो । जसमा होटल तथा रेष्टुरेन्टमा सुरक्षाका उपाय अवलम्वन भए नभएकोबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमन गर्नेछ भने सवारी साधनमा यातायात विभागले नियमन गर्नेछ ।

चैत ११ गते लकडाउन गरिएपछि सबै सार्वजनिक तथा निजी महत्वका विषयहरू ठप्प थियो । अहिले पनि जिमखाना, सिनेमा घर, चिडियाखाना, शैलुन, स्पाजस्ता व्यवसाय भने तत्काल सञ्चालन गर्न नपाइने गरी सरकारले निर्णय गरेको छ ।

विश्वभरी महामारीको रूप लिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरीका सवारीहरु आजबाट खुल्ने भएका हुन् । मन्त्रिपरिषद् बैठकले लामो दुरीका यातायात सञ्चालन गर्न अनुमति दिएसँगै बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर ट्रेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

लामो दुरीका यातायातमा सरकारले कोरोना भाइरसको महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिएको छ । साथै यात्रा गर्दा यात्रु तथा चालकले स्वास्थ्य सामाग्री प्रयोग गर्नुपर्ने भएको छ । गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाइएको यातायात व्यवसायी महासंघले जनाएको छ ।

कोरोनाको कहरसँगै सबै सार्वजनिक महत्वका विषयहरू खुला गरेमा थप जोखिम बढ्ने पनि स्वास्थ्य विज्ञहरूले बताएका छन् । मध्यपुर थिमि नगरपालिका जनस्वास्थ्य अधिकृत भागिरथ अधिकारीका अनुसार स्थानीय बासिन्दाको लापर्बाहीका कारण कोरोना संक्रमण थप भयावह हुनसक्ने स्थिति आएको भन्दै सतर्क रहन नगरबासीलाई आग्रह पनि गरेका छन् ।

‘संक्रमितसँग कन्ट्याक्टमा आएका व्यक्तिहरु भोलिपल्टै परीक्षण गराउने र रिपोर्ट नेगेटिभ आउनेबित्तिकै बेपर्वाह हिँड्ने गरेका छन्,’ उनले भने, ‘यो सबैभन्दा खतरनाक छ, किनभने संक्रमितसँग सम्पर्क भएको व्यक्ति भोलिपल्टै परीक्षण गराएर पर्सिपल्टै नेगेटिभ रिपोर्ट आए पनि १४ दिनसम्म होम क्वारेन्टिनमा बस्नैपर्छ ।’

पाँच दिनपछि टेस्ट गराए पनि नेगेटिभ आयो भने जथाभावी हिँडिहाल्न नमिल्ने जनस्वास्थ्य अधिकृत अधिकारीले जानकारी दिए । ‘परीक्षणपछि नेगेटिभ देखिएकाहरूमध्ये पनि करिब ३० प्रतिशतमा पुनः पोजेटिभ देखिन सक्ने भएकाले कन्ट्याक्टमा आएकाहरु सबै हिसाबले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नैपर्छ,’ उनले भने, ‘यसलाई गम्भीर हिसाबले नलिने हो भने स्थिति भयावह हुनसक्छ ।’

प्रकाशित समय ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु