गृहपृष्ठ प्रहरीको आचरण सुधार गर्न ‘आचारसंहिता’ जारी

प्रहरीको आचरण सुधार गर्न ‘आचारसंहिता’ जारी

#Nepal_Police #नेपाल_प्रहरी

समयानुकूल कर्मचारीको आचरण सुधार गर्न नेपाल प्रहरीले आचारसंहिता जारी गरेको छ । नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने कार्यमा शिष्ट, मर्यादित, जवाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन आचारसंहिता जारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम प्रहरी महानिरीक्षक (आइजीपी)बाट नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने ‘आचारसंहितासम्बन्धी कार्यादेश, २०७७’ जारी गरिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए । जारी आचारसंहितामा प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेशागत कर्तव्य निर्वाहका क्रममा आग्रह वा पूर्वाग्रह नराख्न, समान व्यवहार गर्न, प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने किसिमको उच्च नैतिकता प्रदर्शन गर्न भनिएको छ ।

व्यक्तिगत आचरण तथा अनुशासनमा रही समयको पालना गर्दै काम, कर्तव्य इमान्दारी र तत्परताका साथ गर्नुपर्ने संहितामा उल्लेख छ । जाति, लिंग, धर्म, सम्प्रदाय, शरीर विशेषका आधारमा होच्याउने, हेप्ने, टिप्पणी गर्ने, मजाक गर्ने, हाउभाउ प्रकट गर्नेजस्ता क्रियाकलाप गर्न नहुनेमा जोड दिइएको छ ।

व्यावसायिकतालाई आत्मसाथ गरी प्रहरी अधिकृत तथा जवानबीच एकापसमा भाइचारापूर्ण सम्बन्ध कायम गर्न, कार्यसम्पादन सम्बन्धमा आफ्नो काम प्रति अद्यावधिक भइरहन, आजको काम आजै गर्ने परिपाटी विकास गर्न, आफूले सम्पादन गरेको कार्यको संस्थागत अभिलेख राख्नसमेत निर्देश गरिएको छ ।

सरकारका विभिन्न निर्देशिका र प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरशः पालना तथा आर्थिक पारदर्शिता कायम गर्ने सन्दर्भमा कुनै कमजोरी नगर्न समेत भनिएको छ । प्रहरी कर्मचारीले नागरिकमैत्री अवधारणा अनुरुप सेवा ग्राहीलाई सेवा प्रवाह गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । सेवा प्रवाह गर्दा विनम्रताका साथ सभ्य र शिष्ट भाषा प्रयोग गर्न तथा फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकालाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्न भनिएको छ ।

अनुमति प्राप्त नगरी विदेशी नियोग, विदेशी कूटनीतिक व्यक्ति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह सरकारी संस्थासँग भेटघाट, सम्पर्क तथा सहकार्य नगर्न निर्देशन दिइएको छ । पदीय जिम्मेवारी र दायित्वसँग असम्बन्धित कार्यक्रममा सहभागी हुन, सम्बोधन गर्न, मन्तव्य दिन या अन्य टीकाटिप्पणी गर्न रोक लगाइएको छ । व्यक्तिगत स्वार्थपूर्ति वा लोकप्रियताको लालचमा सञ्चार माध्यमको प्रयोग र सूचना चुहावट गर्न नहुनेमा जोड दिइएको छ । सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दंगा भड्काउने, आतंककारी गतिविधिलाई प्रश्रय दिने, शान्ति सुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिहरू प्रकाशन, प्रसारण गर्न सामाजिक सञ्जालबाट सार्वजनिक गर्न नहुनेमा जोड दिइएको छ ।

कानुनको पूर्ण पालना गर्दै मानव अधिकार सम्बन्धि सिद्धान्तको संरक्षण, सम्बद्र्धन तथा परिपालनामा ध्यान दिन भनिएको छ । विपरित लिंगीको सम्मान गर्नसमेत भनिएको छ । कार्यादेशको पालना सम्बन्धमा प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी इकाइ कार्यालय, महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयमा समितिमार्फत अनुगमन गर्ने जनाइएको छ ।

प्रकाशित समय १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु