गृहपृष्ठ न्याय नपाएकाहरुको आवाज ‘सञ्चारमाध्यम’

न्याय नपाएकाहरुको आवाज ‘सञ्चारमाध्यम’

सञ्चारमाध्यम न्याय नपाएकाहरुको आवाज भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित मिडियासँग सहकार्य तथा परियोजना सम्बन्धि अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सञ्चारमाध्यमले सूचना सम्प्रेषण गरेकै आधारमा धेरैले न्याय प्राप्त गर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै पत्रकार गणेश विशुले सञ्चारमाध्यमले एकजनाको मात्रै समस्या बाहिर ल्याइदिए भने त्यस्ता धेरै पीडितहरुले न्याय पाउने बाटो खुल्ला हुने बताए । एक जना सञ्चारकर्मीले हजारौं नागरिकलाई सु–सुचित गर्ने हैसियत राख्ने भन्दै उनले सञ्चार माध्यमले सीमान्तकृत समुदायलाई धेरै हदसम्म न्याय दिन सक्ने बताए ।

कार्यक्रमका प्रमुख अथितिसमेत रहेका नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले अब न्याय दिनेहरु नै बढी सक्षम हुनुपर्ने बेला आएको बताए । ‘महिला, दलित लगायतका सीमान्तकृत समुदायलाई मिडियाका क्षेत्रबाट समेत न्याय दिने प्रयत्न हुन्छ,’ उनले भने, ‘सञ्चार माध्यमले प्रत्यक्षभन्दा अप्रत्यक्ष न्याय दिन्छ ।’ सकेसम्म पीडितहरु प्रहरी, अदालतमा जाने केही गरी न्याय नपाए मात्रै मिडियामा आउने गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै युएनडीपीका प्रतिनिधि सीमा धामीले एकजना असल सञ्चारकर्मीले हजारौं पीडितहरुलाई न्याय दिनसक्ने हैसियत राख्ने बताइन् । उनले पीडितलाई न्याय दिने मात्रै नभई सही सूचना समयमै दिने काम सञ्चार माध्यमले गर्ने भएकोले जनविश्वास बढेको तर्क गरिन् ।

‘पछिल्लो समय पत्रकारिता फरक तरिकाले चलेको छ,’ उनले भनिन्, ‘आचारसंहिताभित्र रहेर काम गर्न सके पीडितलाई न्याय दिने कुरामा सञ्चारमाध्यमलाई पनि विश्वासीलो क्षेत्र मान्न सकिन्छ ।’ कार्यक्रम सोसेक नेपालको आयोजना तथा युएनडीपीको आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।

प्रकाशित समय २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु