गृहपृष्ठ मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा पक्राउ

मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा पक्राउ

arrest_pakrau_news karobar

मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन सञ्चालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस- ५ घर भएका ४४ वर्षीय दुर्गा बहादुर श्रेष्ठ काठमाडौं महानगरपालिका- ३ स्थित सडकबाट मंगलबार पक्राउ परेका छन् ।

दुर्गाको योजनामा उनकै श्रीमती धनमाया श्रेष्ठ तथा चालक श्याम नेपालीले मलेसियामै काम गर्ने दाङ पहरुवा बस्ने एक व्यक्तिलाई अपहरण गरी ७ दिन बन्धक बनाएका थिए । साथै ती व्यक्तिकी श्रीमतीलाई मलेसियाका बिभिन्न नम्बरबाट फोन गरी दुर्गाको नाममा रहेको हिमालयन बैंक लिमिटेडको खातामा मलेसियन ६० हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरु दिई फिरौती बापतको १५ लाख ९२ हजार रुपैयाँ दुर्गाको खातामा पटक-पटक गरी जम्मा गरेपछि अपहरित व्यक्तिलाई अपहरणमुक्त गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको थियो ।

थप अनुसन्धान गर्ने क्रममा दुर्गाले पीडितलाई राहदानी कब्जामा गरी नेपाल आउनसमेत नदिई अघोषित रुपमा हालसम्म पनि बन्धकजस्तै बनाई राखेको तथा दुर्गा नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले दुर्गालाई काठमाडौं महानगरपालिका- ३ कान्ती बाल अस्पतालनजिक सडकमा बा.१४ च २११२ नम्बरको जिपमा पानीपोखरीतर्फ गइरहेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।

दुर्गाले मलेसियामा काम गर्न गएका नेपाली कामदारहरुलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने गरेको खुल्न आएको उक्त व्यूरोले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु