गृहपृष्ठ सामरिक महत्वको टाक्ची भ्यालीमा बीओपी राख्ने तयारी

सामरिक महत्वको टाक्ची भ्यालीमा बीओपी राख्ने तयारी

लिमी लाप्चाको कैलास दर्शन क्षेत्र ।

हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ स्थित लिमी लाप्चाको टाक्ची भ्यालीमा सशस्त्र प्रहरीको (बोर्डर अब्जरभेसन पोष्ट) बीओपी स्थापनाका लागि तयारी अन्तिम अवस्थामा पुगेको छ । नेपाल-चीन सीमाको १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर नेपालभित्रको क्षेत्रमा बीओपी राख्ने तयारी भएको हो ।

केही दिनअघि नेपाली भूमिमा चिनियाँ पक्षले भवन निर्माण गरेको समाचार सार्वजनि भएपछि यो नाकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पाएको थियो । हुम्लाको उत्तरी नाका हिल्छामा गत असार ६ गते बीओपी स्थापना भइसकेको छ । हाल हिल्छामा इन्स्पेक्टर सुरज केसीको कमाण्डमा २२ जना सशस्त्र प्रहरी तैनाथ छन् । हिल्छामा कम्पाउण्डसहितको ९ कोठे पक्की घरमा सशस्त्र बसेको छ । समुद्री सहतहदेखि ३ हजार ६ सय मिटर उचाइमा रहेको उक्त स्थानमा हिउँदमा समेत सशस्त्रको टोली त्यहीँ बस्नेछ ।

कर्णालीका तीन उत्तरी नाकामा तत्काल बीओपी स्थापनाका लागि तयारी भइरहेको सशस्त्रको सुर्खेतस्थित महेश्वरी बाहिनीले जनाएको छ । बाहिनीका अनुसार हाल लिमीको टाक्ची, मुगुको नाग्चेनाङ्ला र डोल्पाको तिन्जे नाकामा बीओपी राख्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

हुम्लामा मात्र नेपाल चीनको २ सय ६२ किलोटिर लामो सीमारेखा छ । त्यहाँ १० वटा सीमास्तम्भ छन् । लिमीको टाक्ची समुन्द्री सतहभन्दा ४ हजार मिटरभन्दा अग्लो स्थानमा अवस्थित छ । यो नाकाबाट विशेषगरी जडिबुटी तथा वन्यजन्तुका अंगहरुको ओसारपोसार र अवैध आवतजावत हुने प्रशासनको भनाइ छ ।

प्रशासनका अनुसार यसका साथै ‘फ्रि तिब्बत’का समर्थक तिब्बतीहरु पनि यही नाका भएर बाहिरिने चुनौती रहेकाले टाक्चीमा बीओपीको आवश्यकता रहेको हो ।

प्रकाशित समय १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु